बसाई सराईको बिषयले जहिले पनि मन छुन्छ। आफ्नो गाउँ छाडेर मधेश, मधेश छाडेर काठमाण्डौ र अब त काठमाण्डौ पनि छाडेर बिदेश त धेरै घरको कहानी हैन यथार्थ नै भैसक्यो। मलाई भने मानवजातिकै बसाईसराइका काहानीहरुले सधै एक अबोध जिज्ञासु बालक नै बानईरहन्छ। खासमा कुरा चाहि के रहेछ भने – मानव जातिको ईतिहास भनेकै बसाई-सराइको ईतिहास रहेछ।
एक ठाउका मानिस अर्को ठाउ जादा आफ्नो गाउको अन्न बाली रैथाने प्रबिधि बोकेर जाने भो ( उ बेलाको कुरो) अनि नया ठाउका र पुरानो ठाउ वाला ले आ-आफ्ना सरसामान किनबेच वा साटा साट पनि गर्ने नै भए। अनि घुमन्ते मान्छेको ब्यापारले त नयां नयां ज्ञान पो सिर्जित हुदै जाने भो ! तेसैले भनेको – मानव जातिको ईतिहास भनेकै बसाई-सराइको ईतिहास रहेछ।
अहिले हाम्रो देश त छन् यस्तै कामको -मामको खोजीमा देश बिदेश पुगेका जनताले पठाएको रेमिट्यान्सको आम्दानीले नै धानेको देखिन्छ। जुन कुलगार्हस्थ्य उत्पादनको २५% जति छ। तर यो हाम्रो देशको मात्र काहानि होइन है। यस्तै विश्वभरका माइग्रेन्टसहरुले बार्षिक १ ट्रिलियन डलर ( एक हजार अरव) रेमिट्यान्स घर पठाउने रहेछन्। बाफ्रे!!!
मानव जातीको घुमन्ते कहानी बुझ्न भने करिब ३ लाख बर्ष पछाडि फर्कनु पर्ने हुन्छ- जतिबेला हामी सबैका अफ्रिकन पूर्वजहरुले आफ्नो ठाउ भन्दा बाहिर फेर जाने ज्ञान र कौशल बिकास गर्दै थिए- तर बास्तबिक रुपमा हाम्रा बाजे-बजै आफ्रिकाबाट निस्केको चाहि करिब ७० हजार बर्ष भयो। जतिबेला उनीहरु अफ्रिकाबाट मध्य पूर्व हुदै एशिया- युरोप पुगे। अनि करिब २५ हजार बर्ष अघि जब Ice Age को अन्त्य भयो अनि साइबेरिया हुदै अमेरिका तिर पुगेछन्। कति नपुगेको हगि ?
यी मानिसले खेतिपाति र समुदायमा बस्न थालेको त करिब १० हजार बर्ष जति मात्र भयो। करिब ६ हजार बर्ष अगाडि घोडालाई घरेलु जनावर बनाएर आफ्नो नियन्त्रणमा राख्न सक्ने भएछन्। त्यसपछि त के चाहियो टाढा- टाढा पुगेर बन्द ब्यापार गर्न पनि सजिलो। बग्गी बनाएर टन्न सामान बोकाउन पनि मिल्यो। यहि मेसोमा बाटोघाटो सोझ्याउदै पनि हिड्न पाईयो। यसरि दूर दराज सम्म पुग्न सक्ने भए पछि नयां नयां ठाउँ नयां नयां मानिस त भेटिने नै भए – अर्थात ब्यापार बढ्ने भो- नयां नयां ज्ञान पनि प्राप्त हुने नै भयो। धर्म र सभ्यताहरु पनि फैलिदै फैलिदै जाने नै भए।
तर यसरि एउटा बर्ग धनी हुदै टाठो बाठो हुदै गर्दा अर्को बर्ग गरिव -निरीह हुनेनै भयो। अनि यहि बाट सुरु भयो बिभेद र दासता ! युध्द पनि ।
कति सम्म भएछ भने सन् १५१९ मा स्पेनबाट करिब ६०० यात्रु लिएर उ बेलाको पानीजहाज पुगेछ ल्याटिन अमेरिका- र संगसंगै यिनले यस्तो खतरनाक जिवाणु पनि संगै लिएर गएछनकी यी जिवाणु र बेला बेलाका भित्रका र बाहिरका जाती बीचको हिंसामा परेर एज्टक भन्ने उ बेलाको ल्याटिन अमेरिकी साम्राज्यको २ करोड जनसंख्या सिनित्तै घटेर १० लाखमा सिमीत भएछ !
कोलम्बसको १४९२ को अमेरिका डिस्कोभरी पछि त मानव सभ्यतामा नयां इतिहासनै लेखिन थाल्यो। तर मानिसको हिड्ने क्रम चाहि रोकिएको होईन। सबभन्द धेरै त युरोपियानहरुनै अमेरिका बासाइसरे- त्यो पनि औध्योगिक क्रान्तिको सुरुआत र बिस्तार हुदैको को करिब सन् १८५० देखि सन् १९१४ मा बिश्वयुध्द सुरु हुदा सम्म। उतीबेला त न भिसा न पासपोर्ट !
प्रथम बिश्वयुध्दको सुरुवात ताकाबाट भने राष्ट्रबाद र संरक्षणवादले प्रस्रय पाउने थाल्यो- अनि आयो सबै भिसा- पासपोर्टको चक्कर । दोस्रो विश्वयुध्दमा करिब ४ करोड मानिस मारिएनन् मात्रै यी भिसा पासपोर्ट नभएका करिब १ करोड १० लाख मानिस त शरणार्थीको रुपमा अलपत्रै परे। हाम्रा नेपाली दाजु भाई पनि कति बर्मा त कति फिजी तिरै रहने पुगे ।
यो माइग्रेशनको कहानी जति गहिरीयो उति थप जान्ने उत्सुकता जाग्छ। हालैमा पनि सन् १९८० र २०२० को बीचमा करिब २ करोड ८० लाख मानिसले बसाई सरेको पाईन्छ। नेपाल जस्ता कतिपय देशहरु यसरि देश देशावर पुग्नेका कमाईले धानिएकाछन्। युरोप अमेरिका अष्ट्रेलिया जाने त खुशीले जालान- अरब र मलेशिया तिर कामको खोजिमा जान पर्नेका दुख त फेरी पनि झलक मान गन्धर्वको गीत जस्तै नै हो- हे बरै आमाले सोध्लिन नी खै छोरो भन्लिन…
बाचेर आउनेले धन मात्रै हैन ज्ञान शीप पनि ल्याउँछन। यीनै घुमन्तेले गरेको ज्ञान आर्जन, अन्वेषण र आबिष्कारले विश्वले समृध्दिको शिखर पनि चुम्दैछ । त्यसैले पनि Oxford विश्वबिध्यालयका प्रोफेसर Ian Goldin संग सहमत छु – मानव जातिको ईतिहास भनेकै बसाई-सराइको ईतिहास हो ।
(Based on an article by Professor Ian Goldin in F&D of IMF)
-मधु मरासिनी
प्रतिक्रिया