९ भाद्र २०८२, सोमबार | Mon Aug 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


समस्याग्रस्त सहकारी सञ्चालकको सम्पत्तिबाट बचतकर्ताको बचत फिर्ता गर्नुपर्छ : सचिव श्रेष्ठ



नेकपा(माओवादी केन्द्र)का सचिव गंगानारायण श्रेष्ठले समस्याग्रस्त बनेका सहकारीका सञ्चालकहरूको सम्पत्ति खोजबिन गरेर बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने बताएका छन् । उनले सञ्चालकको सम्पत्ति र सहकारीहरूको भौतिक सम्पत्तिको छानबिन गरेर लगानी डुब्दै गरेका पीडितहरूलाई दिनुपर्ने बताएका हुन् । लगानी डुबेका बचतकर्ताहरुको समस्याप्रति सरकार गम्भीर नभएको उनको भनाई छ ।

सोमबार जिल्ला सहकारी संघ लिमिटेड सिन्धुलीको २३ औं वार्षिक साधारण सभा तथा स्थापना दिवसलाई सम्बोधन गर्दै उनले सरकारले सहकारी क्षेत्रलाई संविधानको मर्म अनुरूप प्राथमिकतामा नराखेको कारण सहकारी क्षेत्र कमजोर भएको बताए । उनले सङ्कटग्रस्त सहकारीका हजारौं सदस्यहरूको अर्बौं रुपैयाँ जोखिममा परेको कारण सहकारी संस्थाको विश्वासीयतामा ह्रास आएको बताए । सरकारले संकटग्रस्त सहकारी क्षेत्रलाई पुनः नयाँ जीवन दिएर आम नागरिकमा सहकारीप्रति आशा र भरोसा जगाउनुपर्ने र सहकारी क्षेत्रलाई समाजवाद निर्माणको मेरुदण्ड बनाउनुपर्ने कुरामा जोड दिएका दिए ।

सचिव श्रेष्ठले समाजवाद स्थानीय तहदेखि निर्माण गर्दै गए मात्रै समाजवादको लक्ष्यमा पुग्न सकिने बताए । गाउँको पैसा गाउँमै अड्याउँदै र बाहिरबाट सकेसम्म पैसा भित्र्याउँदै गएपछि मात्रै समाजवाद बन्दै बन्दै जाने उनको भनाई छ । त्यसका लागि समुदायले आफ्नो ज्ञान, सिप र प्रबिधिमार्फत प्राकृतिक श्रोतको भरपुर उपयोग गर्न पाउनुपर्ने उनले बताए । ‘समुदायलाई तीनै तहको सरकारले सहजीकरण गर्नुपर्छ । बजारलाई छेक्नुपर्छ । समुदायले आफ्नो जीवन शैली र संस्कृति पनि फेर्दै लैजानुपर्छ’, उनले भने, ‘कोकको सट्टा मोही, चाउचाउको सट्टा मकै संस्कृतिको विकास गर्नुपर्छ । त्यसका लागि अर्थतन्त्रको एक खम्बा सहकारी क्षेत्रले निर्णायक योगदान गर्नुपर्छ ।’

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  १ : ५४ बजे