४ भदौ, काठमाडौं । गत बिहीबार भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको दुर्घटनाबारे ट्रक चालकले थाहै नपाएको छानबिन समितिले निष्कर्ष निकालेको छ ।
प्रहरीले उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रजित केसी नेतृत्वमा गठन गरेको समितिले मंगलबार बुझाएको प्रतिवेदनमा ट्रक चालकले आफूले स्कुटर नै नदेखेको बयान दिएको उल्लेख छ ।
ना ६ ख २१७३ नम्बरका ट्रकका चालक सर्लाही मलंगवा नगरपालिका–२ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठसँग समितिले सोधपुछ गरेको थियो । त्यस क्रममा आफूले स्कुटर नदेखेको र केही पछि मात्रै चक्काले केही वस्तु घिसारेजस्तो लागेपछि लुकिङ ग्लास हेर्दा दुर्घटना भएको थाहा पाएको बयान दिएका छन् ।
त्यसपछि ट्रक नै रोकेको उनले बयानमा खुलाएका छन् । दुर्घटना हुँदा ट्रक भन्दा पछाडि आइरहेको अर्को गाडीका चालकसँग पनि समितिले सोधपुछ गरेको उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी किरण बज्रचार्यले बताइन् । ती चालकले पनि दुर्घटना भएपछि मात्र स्कुटर देखेको बयान दिएका छन् ।
दुर्घटनापछि डरले आफू फरार भएको चालकले बयान दिएका छन् । बिहीबार दिउँसो १ः४० बजे श्रेष्ठले चलाएको ट्रकले ठक्कर दिँदा बा ४९ प ८९४४ नम्बरको स्कुटरका चालक ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–४ छहरे घर भई काठमाडौं कपनमा बस्दै आएका ६५ वर्षका उत्तम कोइरालाको घटनास्थमै मृत्यु भएको थियो ।
दुर्घटनामा ट्राफिक प्रहरीको लापरबाही भएको आरोप लागेपछि प्रहरीले एसपी केसीको नेतृत्वमा आन्तरिक छानबिन समिति बनाएर घटनाको छानबिन गरेको थियो ।
तर छानबिन समितिले विभिन्न व्यक्तिसँग गरेको सोधपुछ र सीसीटीभी फुटेजलाई आधार मान्दै ट्राफिकको कमजोरी नरहेको राय दिएको छ ।
दुर्घटनास्थल नजिकै ३ जना ट्राफिक प्रहरी ड्युटी गरिरहेको सीसीटीभी फुटेजमा देखिन्छ । सोही क्रममा काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको ट्रकले आफूभन्दा अघि रहेको स्कुटरलाई किच्दै अघि बढेको देखिन्छ । स्कुटर देब्रेतर्फ उछिटिन्छ भने स्कुटरमा सवार व्यक्तिलाई ट्रक केही मिटर परसम्म घिसारेको देखिन्छ ।
प्रतिक्रिया