२५ भाद्र २०८२, बुधबार | Wed Sep 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


दसैँका लागि हवाई टिकट बुकिङ सुरु, बसको असोज पहिलो हप्तादेखि



काठमाडौँ, भदौ २७ गते । दसैँ आउन एक महिना बाँकी रहँदा यात्रुले हवाई टिकट बुकिङ गर्न थालेका छन् । बसका टिकट असोज पहिलो हप्तादेखि खुला गर्ने भनिएको छ । एयरलाइन्सहरूले दसैँका लागि भनेर अग्रिम बुकिङ खुलाउँदैनन् तर पछि अभाव हुने र हवाई भाडा महँगो हुँदै जाने डरले यात्रुहरूले दसैँलाई भन्दै अग्रिम बुकिङ थालिसकेका छन् ।

वायुसेवा सञ्चालक सङ्घका अनुसार अनलाइनबाट सहज रूपमा टिकट पाइने भएपछि अधिकांश हवाई गन्तव्यको टिकट बुकिङ सुरु भइसकेको छ । सङ्घका प्रवक्ता मुरारीधर जोशीले दसैँलक्षित अहिले सुगमभन्दा दुर्गम गन्तव्यतर्फको टिकट बुकिङमा यात्रुको चाप देखिएको बताए।

उनले भने, “दसैँमा सहरबाट गाउँ र विदेशबाट स्वदेश फर्किन यात्रुले आफ्नो गन्तव्यको टिकट लिन सुरु गरिसकेका छन् । सुगमतर्फका गन्तव्यमा उडान चाप सामान्य रहे पनि आन्तरिक उडानको महत्वपूर्ण रुट मानिने तुम्लिङटार र सुर्खेतलगायतका गन्तव्यमा हवाई टिकट लिने यात्रुको सङ्ख्या बढिरहेको सुन्नमा आएको छ ।”

अहिले मौज्दात जहाजको र उडान सङ्ख्याका आधारमा दसैँलक्षित कुनै पनि गन्तव्यमा थप उडान गर्नेबारे हवाई कम्पनीबिच छलफल नभएको उनले जानकारी दिए ।

यसैगरी दसैं तिहार र छठ पर्वलक्षित सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि खुला गरिने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सरकारी निकायसँगको छलफलमा असोज पहिलो सातादेखि खुला गर्ने तयारी भएको जनाएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार  १० : २४ बजे