प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपाका महासचिव नेत्रविक्रम चन्द र नेता खड्गबहादुर विश्वकर्माले राजनीतिक भेटघाट गर्नुभएको छ।
नेताहरूले आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा राजनीतिक छलफल गर्नुभएको हो।
छलफलमा माओवादी धाराका सबै शक्तिहरू एक ठाउँमा आउनुपर्ने राष्ट्रिय आवश्यकताबारे नेताहरूबिच गहन छलफल भएको छ। सो क्रममा तत्काल समाजवादी शक्तिहरूबिच साझा मोर्चा र कार्यक्रम बनाएर सहकार्य गर्दै भविष्यमा एकताको आधार तयार पार्नेबारे समझदारी भएको छ।
माओवादी धाराहरू एक ठाउँमा उभिँदा परिवर्तनका मुद्दा प्रभावकारी ढंगले कार्यान्वयन गर्न सजिलो हुने र अन्य वामपन्थीहरूबिच सहकार्य र एकताको वातावरण तयार हुनेमा नेताहरू एकमत हुनुभएको छ।
भेटका क्रममा नेकपाका नेताहरूले अघिल्ला सरकारहरूसँग भएका सहमति कार्यान्वयनमा सरकारकाे धारणाबारे चासो राख्नुभएको थियो। सो क्रममा प्रधानमन्त्रीले विगतका सरकारले गरेका सबै सहमति कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताउँदै बन्दीहरू रिहाइका लागि सरकारको तर्फबाट पहल भइरहेको जानकारी दिनुभएको छ।
२३ माघ २०७९, सोमबार
0
Shares
प्रतिक्रिया