२ अर्ब २२ करोड असुल्न सिफारिस सहित पोखरा क्षेत्रीय विमानस्थलको अध्ययन प्रतिवेदन संसदीय उपसमितिले प्रतिनिधि सभाको लेखा समितिलाई बुझाएको छ ।
सोमवार संसद भवन नयाँ बानेश्वरमा एक कार्यक्रमका बीच संसदीय उपसमितिका संयोजक एवं राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङदेनले अध्ययन प्रतिवेदन लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई बुझाएका हुन । गत असार १४ गते प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन अनुगमन र छानबिन गरी रायसहितको प्रतिवेदन बुझाउन उपसमिति गठन गरेको थियो ।
लिङदेन नेतृत्वको उपसमितिमा सांसदहरू लेखनाथ दाहाल, अर्जुननरसिंह केसी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, प्रेमबहादुर आले, तारा लामा, तेजुलाल चौधरी, दीपक गिरी, देवप्रसाद तिमिल्सिना, रामकृष्ण यादव र रुक्मणि राना सदस्य थिए। प्रतिवेदन बुझ्दै समिति सभापति ऋषिकेश पोखरेलले उपसमितिको अध्ययन प्रतिवेदनलाई छिट्टै मुल समितिमा लैजाने बताए । उनले मुल समितिमा छलफल गरी प्रतिवेदनको रायअनुसार आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने बताए ।
प्रतिवेदन बुझाउँदै संसदीय उपसमितिका संयोजक लिङदेनले प्रतिवेदनमा क्षेत्रीय विमानस्थल निर्माणमा भएको अनियमितता र समस्याहरुको औंल्याउँदै ६ वटा निष्कर्षसहित प्रतिवेदन बनाइएको बताए। उनकाअनुसार ३८ पृष्ठ लामो प्रतिवेदनमा मुलतः विमानस्थल निर्माण भएको अनियमितता र विमानस्थल नियमित सञ्चालनमा देखिएका समस्याहरु उल्लेख गरिएको छ ।
उनले भने, ‘प्रतिवेदनमा मुलतः हामीले ६ वटा निष्कर्षहरु निकालेका छौं । समग्र निष्कर्ष समितिको बैठकपछि बाहिर आउनेछन् । हामीले क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलमा भएको अनियमितता र समस्याहरु समेत समावेश गरेर ३८ पृष्ठको प्रतिवेदन बनाएका छौं ।’
२४ अर्ब लगानी भएको पोखरा विमानस्थल २०७९ पुसमा निर्माण सम्पन्न भएर उद्घाटन भएको थियो ।
प्रतिक्रिया