बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले आज (फागुन १८ गते) बिहीबारदेखि सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ । लघुवित्तले बैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरे पश्चात सर्वसाधारणको लागि शेयर निष्काशनमा ल्याएको हो ।
लघुवित्तले जारी पूँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो ।
त्यसमध्ये १० प्रतिशत अर्थात ९ हजार ७०० कित्ता बैदेशिक रोजगारी रहेका नेपालीहरुलाई निष्काशन गरिसकेको छ । यस्तै ०.५ प्रतिशतले हुन आउने १ हजार ५०० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४ हजार ८५० कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ८० हजार ९५० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लघुवित्तको अधिकृत पूँजी १० करोड रुपैयाँ, जारी पूँजी ३ करोड रुपैयाँ र चुक्ता पूँजी २ करोड ३ लाख रुपैयाँ रहेको छ । सर्वसाधारणलाई ९७ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी ३ करोड रुपैयाँ पुग्नेछ ।
आईपीओ निष्काशन पश्चात संस्थापकको ६७.६७ प्रतिशत र सर्वसाधारणको ३२.३३ प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।
आईपीओमा कसरी दिने आवेदन?
लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १ हजार कित्ता अर्थात १० हजार रुपैयाँ सम्मको लागि आवेदन दिन सकिनेछ ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ ।
लघुवित्तको आईपीओमा फागुन १८ गते देखि फागुन २३ गते बैकिङ्ग समयसम्ममा आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे चैत २ गतेसम्म म्याद थप हुनेछ ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मेघा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ भने धितोपत्र प्रत्याभुतकर्तामा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
उच्च जोखिम जनाउने रेटिङ्ग
लघुवित्तको आईपीओलाई क्रेडिट रेटिङ्ग एजेन्सी ईक्रा नेपाल लिमिटेडले ‘इक्रा एनपी आईआर डबल बी माइनस’ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।
लघुवित्तलाई रेटिङ्ग एजेन्सी ईक्रा नेपालले २०७८ चैत ३० गते रेटिङ्ग प्रदान गरेको थियो । उक्त रेटिङ्गको अवधि एक वर्ष अर्थात २०७९ चैत २८ गतेसम्म कायम रहनेछ ।
कस्तो संस्था हो?
बिपिडब्लु लघुवित्त वित्तीय संस्था नेपाल राष्ट्रबाट अनुमति प्राप्त ‘घ’ वर्गको वित्तीय संस्था हो । २०७५ भदौ ३१ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता भई २०७५ माघ १७ गते नेपाल राष्ट्र बैंकबाट अनुमति पाएको थियो ।
लघुवित्त वित्तीय संस्थाले २०७६ बैशाख २ गते देखि बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको नामबाट वित्तीय कारोबार सुचारु गर्दै आइरहेको छ ।
संस्थाको केन्द्रिय कार्यलय काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडां नं. ८ नितबाटोमा रहेको छ । हाल संस्थाले ५ जिल्लामा ५ वटै शाखा कार्यालयहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
यस लघुवित्त वित्तीय संस्थाको निक्षेपकर्ताको हक हितको संरक्षण र सम्वर्द्धन गर्दै स्वस्थ प्रतिस्पर्धाबाट सर्वसाधारणलाई गुणस्तरीय तथा भरपर्दाे वित्तीय मध्यस्थता सेवा उपलव्ध गराउने उद्देश्य राखेको छ ।
चालु आर्थिक वर्षसम्म नोक्सानीमै हुने
लघुवित्तले चालु आर्थिक वर्षको अन्त्यसम्ममा पनि नोक्सानीमै हुने प्रक्षेपण गरेको छ । यस अवधिमा लघुवित्त २८ लाख ८ हजार रुपैयाँ नोक्सानीमा रहने अनुमान गरेको हो ।
आर्थिक वर्ष २०८१/८२ सम्ममा सञ्चित नाफा २४ लाख ४९ हजार रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ । गत आर्थिक २०७८/७९ को अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले २९ लाख ८५ हजार रुपैयाँ सञ्चित मुनाफा आर्जन गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा पनि लघुवित्त ४९ लाख ६० हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।
यस्तै लघुवित्तले आर्थिक वर्ष २०८१/८२ सम्ममा प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ८९ पैसा र प्रतिशेयर आम्दानी १६ रुपैयाँ ६७ पैसा पुग्ने प्रक्षेपण गरेको छ ।
चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११७ रुपैयाँ ४ पैसा र प्रतिशेयर आम्दानी १० रुपैयाँ १४ पैसा पुग्ने लघुवित्तको अनुमान छ ।
आईपीओ निष्काशन गर्नुको उद्देश्य
बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन अनुसार सर्वसाधारणलाई शेयर वितरण गर्नु परेको लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्नु परेको जनाएको छ । त्यस अनुसार संस्थाले जारी पूँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो ।
लघुवित्तले सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन तथा वित्तीय एवंम आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको व्यवस्था गर्न र वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख गरिएका उदेश्यहरु अनुरुप गर्नुपर्ने कार्यहरुको लागि आवश्यक पर्ने पूँजी संकलन गर्न आईपीओ निष्काशन गर्नु परेको जनाएको छ ।
लघुवित्तले आईपीओ निष्काशन गरी संकलन भएको ९७ लाख रुपैयाँ मध्ये पशुपालन तथा कृषि कर्जामा ५३ लाख ३५ हजार रुपैयाँ र खुद्रा व्यापार तथा सेवा कर्जामा ४३ लाख ६५ हजार रुपैयाँ लगानी गर्ने जनाएकाे छ ।
सञ्चालक समितिमा को को छन्?
लघुवित्त वित्तीय संस्थाको नियमावली अनुसार सञ्चालक समितिमा ७ जना रहने व्यवस्था रहेको छ । समितिमा संस्थापक शेयरधनीको तर्फबाट ४ जना, सर्वसाधारण शेयरधनीबाट २ जना र स्वतन्त्र सञ्चालक १ जना हुने प्रावधान रहेको छ ।
सञ्चालक समितिको अध्यक्षमा अम्बिका लाल श्रेष्ठ रहेका छन् । यस्तै सञ्चालक समितिका सदस्यहरुमा किशोर भाई बज्राचार्य, पुष्पराम श्रेष्ठ, सवीन प्रधानाङ्ग र तिर्थरत्न कोनाजो रहेका छन् । कोनाजो स्वतन्त्र सञ्चालक हुन् ।
हाल लघुवित्तको सञ्चालक समितिमा ४ जना संथापक शेयरधनी र एक जना स्वतन्त्र गरी ५ जना मात्रै रहेका छन् । आईपीओ निष्काशन पश्चात भने नियमावली अनुसार सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालक चयन हुनेछ । सञ्चालकहरुको कार्यकाल ४ वर्षको हुनेछ ।
भावी योजना तथा रणनीति
लघुवित्त वित्तीय संस्थाले आफ्नो व्यवसाय तथा सेवा वृद्धिको लागि ग्राहकको आवश्यकता अनुसार सेवा विस्ता गराउँदै लाने रणनीति लिएको छ ।
आगामी दिनहरुमा उपयुक्त स्थानमा आवश्यकता र प्रतिफलको सिद्धान्तको आधारमा शाखा बिस्तारमा थप जोड दिइने र आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा थप १५ बटा शाखा बिस्तार गरी जम्मा शाखा कार्यालय संख्या २० पुयाउने लघुवित्तको योजना छ ।
शाखा विस्तारको आधारमा लघुवित्तले आर्थिक वर्ष २०८१/८२ सम्ममा कर्जा विस्तार तर्फ ३० करोड रुपैयाँ र बचत संकलन तर्फ ७ करोड २४ लाख ४५ हजार रुपैयाँ पुर्याउने लक्ष्य राखेको छ । यस्तै संस्थाबाट सेवा लिई आय आर्जन मुलक कार्य गरी जीवनस्तर उकास्न लालायित सदस्यहरु समूहमा प्रवेश गराउन जोड दिई सदस्य संख्या बृद्धि ल्याउने र सफल सदस्यहरुलाई प्रोत्साहन, सम्मान गर्ने योजना समेत रहेको छ ।
साथै, वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरी सेवाग्राहीहरुको संख्यामा वृद्धि गर्दै लगिने, समग्र कर्जाको गुणस्तरलाई उच्चस्तरमा राख्ने र कर्जा तथा सापटमा प्राप्त हुने प्रतिफललाई उच्च राख्न कर्जा लगानीमा विविधिकरण गर्ने रणनीति समेत संस्थाले बनाएको छ ।
संस्थागत रुपमा सबल बन्न तथा सदस्यहरुलाई थप सेवा सुविधा उपलब्ध गराउनको लागि मर्जर तथा प्राप्तिको सम्भावनाको खोजी गर्ने तयारी समेत गरेको छ ।
प्रतिक्रिया