प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई वर्षमा बेपत्ता योद्धाको स्थिति सार्वजनिक हुने बताउनुभएको छ। प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘बेपत्ता योद्धाको स्थिति दुई वर्ष भित्रमा टुंग्याउने गरी कार्य सुरु गरिसकेका छौं।’’
प्रधानमन्त्री प्रचण्डले बेपत्ता योद्धाको स्थिति सार्वजनिक गर्ने, उनीहरुलाई शहीदको सम्मान दिने र परिवारलाई उचित क्षतिपूर्ति, परिपुरणसहितको व्यवस्था गर्न आफू पूरै लागिपर्ने बताउनुभयो। उहाँले शान्ति प्रक्रियाका बाँकी काम दुई वर्ष भित्रै टुंगोमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। त्यसैगरी प्रधानमन्त्री प्रचण्डले केही दिन भित्रै संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसदबाट पारित हुने बताउनुभएको छ। बेपत्ता योद्धा परिवार समाजले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सबै दलको सहमतिमा नै सो विधेयक संसदबाट पारित हुने दाबीसमेत गर्नुभयो।
प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘अहिले पनि सदन भित्र सबै राजनीतिक दल र सदन बाहिरका पीडितसँग पनि समझदारी बनाएर सत्य निरुपण तथा बेपत्ता आयोग सम्बन्धी विधेयक पारित गर्ने पक्षमा छौं। यसमा रमेश लेखकजीको भूमिका महत्वपूर्ण छ। हामी बेपत्ता योद्धाको स्थितिलाई र सत्य निरुपणसँग सम्बन्धित विषयलाई टुंगोमा पुर्याइन्छ भन्ने कमिटमेन्ट उहाँले गर्नुभयो। म उहाँलाई पनि विशेष रुपले धन्यवाद भन्न चाहन्छु। त्यसैगरी नेकपा ९एमाले०का प्रदीप ज्ञवालीले पनि बेपत्ता योद्धाका परिवारका अगाडि, शहीद परिवारजनको अगाडि उभिएर जो कमिटमेन्ट उहाँले गर्नुभयो। यसको धेरै ठूलो अर्थ छ भन्ने मैले ठानेको छु। म प्रदिपजीलाई पनि धन्यवाद भन्न चाहन्छु।’’
प्रधानमन्त्री दाहालले माओवादी लडाकुलाई दुई लाख दिने निर्णय अदालतको अन्तरिम आदेशका कारण रोकिएको स्पष्ट पार्नुभयो। उहाँले आफूले कुरा थोरै र काम धेरै गर्ने गरेको पनि दोहोर्याउनु भयो। कार्यक्रममा कांग्रेस नेता रमेश लेखक, एमाले नेता प्रदीप ज्ञवाली, नेकपा महासचिव नेत्रविक्रम चन्द, वरिष्ठ अधिवक्ता एकराज भण्डारीलगायतले सम्बोधन गर्नुभएको थियो।
प्रतिक्रिया