४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


भक्तपुर नगरपालिकाको सय शय्याको आफ्नै अस्पताल



भक्तपुर नगरपालिकाले सय शय्याको अस्पताल सञ्चालनमा ल्याएको छ । देशभरका सात सय ५३ स्थानीय सरकारमध्ये सय शय्याको अस्पताल सञ्चालन गर्ने भक्तपुर पहिलो स्थानीय सरकार बनेको छ ।

नगरपालिकाले स्वास्थ्य सेवासमेत न्यून शुल्कमा उपलब्ध गराउँदै आएको छ । ‘स्ट्यान्डर्ड बेडको एक सय रुपैयाँ शुल्क लिन्छौँ,’ नगर मेयर सुनील प्रजापतिले भने, ‘अधिकांश नगरवासीले बिमा गरेका छन् । त्यही बिमाले कभरेज हुने भएकाले सेवा निःशुल्कजस्तै छ ।’ यस्तै, गरिब र विपन्नले उपचार गर्न नसक्ने अवस्था प्रमाणित गरे सबै स्वास्थ्य सेवा निःशुल्क हुने उनको भनाइ छ । नगरवासीलाई २० मिनेटमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यअनुसार काम भइरहेको उनले बताए ।

‘हामीले नगरभित्र २० मिनेटमा स्वास्थ्य सेवा पाउने ग्यारेन्टी गरेका छौँ । कुनै पनि नागरिकले २० मिनेटभित्र स्वास्थ्य सेवा पाउनुपर्छ भनेर प्रत्येक दिन घर–घरमा नर्स पुग्छन् । वडाका स्वास्थ्य केन्द्रमा डाक्टरसहितको सेवा उपलब्ध छ । ख्वपः अस्पतालमार्फत यी सबै सेवा उपलब्ध हुन्छन् । वडाका डाक्टरसम्म पुगे १०–१५ मिनेटमै पनि सेवा पाइन्छ,’ उनले भने । ख्वपः अस्पतालबाट दैनिक साढे सात सयजनाले सेवा लिइरहेका छन् । चालू आवको १० महिनामा मात्रै यहाँबाट एक लाख ७९ हजार जनाले सेवा लिइसकेका छन् । नगरपालिकाअन्तर्गत ख्वपः अस्पतालसहित श्वासप्रश्वास पुनस्र्थापना केन्द्र, जनस्वास्थ्य सेवा केन्द्र, सहरी स्वास्थ्य केन्द्र र आधारभूत स्वास्थ्य उपचार केन्द्र पनि सञ्चालनमा छन् । यसअघिको २५ शय्याको जनस्वास्थ्य केन्द्रलाई नगरपालिकाले सय शय्यामा स्तरोन्नति गरेको हो ।

अस्पतालमा एक सय ७३ स्वास्थ्यकर्मी तथा कर्मचारी
अस्पतालमा हाल २१ जना विशेषज्ञ चिकित्सक, २० जना मेडिकल अफिसर, ४७ जना स्टाफ नर्ससहित एक सय ७३ जना कर्मचारी कार्यरत छन् । अस्पतालले सार्वजनिक बिदा र शनिबारसमेत गरी दैनिक ११ घन्टा ओपिडी सेवा दिइरहेको छ । नगरवासीका लागि निःशुल्क अक्सिजन सेवा उपलब्ध छ । चालू आवको १० महिनामा नौ हजार आठ सय ५५ सिलिन्डर ग्यास नगरपालिकाले निःशुल्क वितरण गरेको छ भने हालसम्म करिब चार सयजनालाई निःशुल्क रगत प्रदान गरेको जनाएको छ ।

ख्वपस् अस्पतालमा सबै सेवा उपलब्ध
अस्पतालमा स्त्रीरोग, बालरोग, छाला, नाक–कान–घाँटी, दन्त, आँखा, हाडजोर्नी, छाती, मुटु, नसा, प्रसूति, मानसिक रोगलगायत रोगहरूको विशेषज्ञ सेवा उपलब्ध हुँदै आएको छ । गत ७ माघदेखि जटिल शल्यक्रिया र १७ वैशाखबाट प्रसूति सेवा पनि सुरु भएको छ । वडा–वडामा घरदैलो नर्सिङ सेवालाई प्रभावकारी बनाउन सम्बन्धित वडामा नियमित आधारभूत स्वास्थ्य सेवा उपलब्ध हुने गरी नर्सहरूलाई समेत नगरपालिकाले परिचालन गर्दै आएको छ ।

जनस्वास्थ्य केन्द्र अस्पतालमा रूपान्तरण
स्थानीय सरकार सञ्चालन ऐन, ०७४ ले स्थानीय तहलाई आधारभूत स्वास्थ्य र सरसफाइको अधिकारअन्तर्गत आधारभूत स्वास्थ्य र सरसफाइ तथा पोषणसम्बन्धी नीति, कानुन, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन तथा नियमन, आधारभूत स्वास्थ्य, प्रजनन स्वास्थ्य र पोषण सेवाको सञ्चालन र प्रवर्द्धन, अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना तथा सञ्चालन, स्वास्थ्य सेवासम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापनको एकल अधिकार दिएको छ । नगरपालिकाले भने यसै वर्षदेखि सय शय्याको अस्पताल सुरु गरेको हो । सय शय्याको अस्पताल सञ्चालनको स्वीकृति पाउन भने निकै कष्ट भएको मेयर प्रजापतिले बताए ।

‘०७३ सालमै २५ शय्याको अस्पतालको स्वीकृति जिल्ला जनस्वास्थ्य केन्द्रले दिने व्यवस्था थियो । सोहीअनुसार जनस्वास्थ्य सेवा केन्द्र चलाइरहेका थियौँ । तर, अस्पताल भनेर सञ्चालन हुन सकिरहेको थिएन । कोरोनाका वेला धेरै मानिस केन्द्र आउन थालेका थिए । हामीले थोग्न सकेका थिएनौँ । १७ वैशाख ०७८ मा जनस्वास्थ्य केन्द्रलाई ख्वपः अस्पताल भनेर नामकरण र नियमावली बनायौँ । दैनिक पाँचदेखि ६ सय बिरामी आउन थाले । चाप बढ्यो,’ अस्पताल सञ्चालनबारे मेयर प्रजापतिले भने, ‘हामीले नर्सिङ कलेज पनि चलाइरहेका थियौँ ।

त्यही वला सय शय्याको आफ्नै अस्पताल नभएका नर्सिङ कलेज बन्द गर्ने सरकारले निर्णय गर्‍यो । त्यसपछि केन्द्र सरकार र प्रदेश सरकार धेरैतिर धायौँ । हामीसँग पूर्वाधार, जनशक्ति सबै भए पनि केन्द्र र प्रदेश सरकारले स्वीकृति दिन आनाकानी गर्‍यो । तर, हामीले पहल गर्न छाडेनौँ । अन्ततः एक सय शय्याको अस्पताल चलाउन स्वीकृति पाएका छौँ ।’ नगरपालिकाले २३ जेठ ०७९ मा बागमती प्रदेश सरकार स्वास्थ्य निर्देशनालयबाट अस्पताल सञ्चालन अनुमति पाएको थियो ।-Nayapatrika

 

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  १० : १९ बजे