२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


रोजगारीमा साउदी जादाँ शैक्षिक प्रमाणपत्र अनिवार्य नचाहिने



नेपालस्थित साउदी दूतावासले शैक्षिक प्रमाणपत्र अनिवार्यको निर्णयबाट पछि हटेको छ । दूतावासले आजदेखि भिसा जारी गर्नका लागि शैक्षिक प्रमाणपत्र अनिवार्य गराएको थियो । तर, अन्तिममा आएर शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको छैन । आज दूतावासमा भिसाका लागि पेश गरिएका निवेदनहरूलाई शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको छैन । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले आजदेखि लागू गर्ने भनेको शैक्षिक प्रमाणपत्र नमागेको बताए ।

‘आज भिसाका लागि पठाइएका कागजातमा शैक्षिक प्रमाणपत्र मागेको छैन् । १२ जुनदेखि लागू गर्ने भनेको सूचना निकालेको थियो । तर, आज विना शैक्षिक प्रमाणपत्र पनि भिसा जारी गरेको छ’ अध्यक्ष भण्डारीले भने । दूतावासले शैक्षिक प्रमाणपत्र अनिवार्य हुने सूचना जारी गरेपछि चौतर्फी विरोध सुरू भएको थियो । चौतर्फी दबाब तथा सरकारको समेत चासो देखिएपछि दूतावास पछि हटेको हो ।

साउदीको यो नीतिले कामदारमाथि शैक्षिक प्रमाणपत्र जुटाउनुपर्ने झन्झट थपिएको थियो । गत आर्थिक वर्षमा १ लाख २५ हजार २३७ जनाले साउदी अरब जानका लागि श्रम स्वीकृति लिएका थिए । साउदी जाने मध्ये अधिकांश अदक्ष कामदार जाने गरेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । खाडी जाने कामदारमध्ये ५७‍‍।६ प्रतिशत अदक्ष कामदार रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रतिवेदन–२०२२ ले देखाएको छ ।

दूतावासले मागेको शैक्षिक प्रमाणपत्र एसएलसी÷एसईई वा सो सरहको हो । त्यो पनि परराष्ट्र मन्त्रालयको कन्सुलर विभागले प्रमाणीकरण गरेको हुनुपर्ने भनिएको थियो । कन्सुलर विभागबाट प्रमाणीकरण भएपछि मात्रै दूतावासले प्रमाणीकरण गर्ने भन्ने थियो । दूतावासले उक्त निर्णयपछि भिसा प्राप्त गर्न थप झन्टिलो प्रक्रिया अपनाउनुपर्ने बाध्यता थियो । यो विषयमा व्यवसायीहरूले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  १ : ३६ बजे