७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


बागमती प्रदेशको खर्च १७ प्रतिशतभन्दा कम



बागमती प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०(८१ को पहिलो छ महिनाको बजेट खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आवका लागि विनियोजित बजेटको गत साउनदेखि पुस मसान्तसम्मको अवधिमा १७ प्रतिशतभन्दा कम बजेट खर्च गरेको छ ।

चालु आवका लागि गत असार १ गते कुल ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपियाँको बजेट ल्याएको प्रदेश सरकारले पहिलो छ महिनामा १६।९८ प्रतिशत अर्थात् १० अर्ब ६४ करोड ८० लाख एक हजार ४४४ रुपियाँ मात्र खर्च गर्न सकेको भएको बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

चालु आवका लागि चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार रुपियाँ, पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख नौ हजार र वित्तीय व्यवस्थातर्फ ५० करोड रुपियाँ विनियोजन गरिएको छ । मन्त्रालयले सार्वजनिक गरेको चालु आवको अर्धवार्षिक वित्तीय प्रगति विवरण अनुसार उक्त विनियोजित बजेटमा छ महिनाको अवधिमा चालुको तुलनामा पुँजीगततर्फको शीर्षकको बजेट कम खर्च भएको तथ्याङ्क छ ।

चालुतर्फ विनियोजित बजेटमा २२।६७ प्रतिशत अर्थात् पाँच अर्ब ९९ करोड ६३ लाख ८९ हजार ३३२ रुपियाँ र पुँजीगततर्फ १३ प्रतिशत अर्थात् चार अर्ब ६४ करोड ८५ लाख ८० हजार १७० रुपियाँ गत पुस मसान्तसम्ममा खर्च भएको छ ।

मन्त्रालयका सूचना अधिकारी अर्जुन अर्यालका अनुसार चालु आवका लागि वित्तीय व्यवस्था तथा सेयर लगानीका लागि ५० करोड रुपियाँ विनियोजन गरिएकोमा चालु आवको छ महिना पूरा हुँदा अझै खर्च हुन सकेको छैन ।

बागमती प्रदेशमा सबैभन्दा बढी विकास बजेट विनियोजन भएको भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि विनियोजित चालुतर्फको बजेटको ३०।६८ प्रतिशत अर्थात् १२ करोड ५० लाख ७१ हजार ७७५ रुपियाँ खर्च भएको छ । स्थानीय तहका लागि विनियोजन गरिएको सात अर्ब ६५ करोड ४६ लाख ९६ हजार रुपियाँमा हालसम्ममा ४०।२७ प्रतिशत बराबरको रकम निकासा भइसकेको छ ।

यस्तै प्रतिशतका आधारमा हालसम्म बढी प्रतिशत बजेट खर्च गर्नेमा प्रदेश व्यवस्थापिका, मुख्य न्यायाधिवक्ताको कार्यालय, प्रदेश लोक सेवा आयोग, स्वास्थ्य मन्त्रालय, श्रम, रोजगार तथा यातायात मन्त्रालय र प्रदेश नीति तथा योजना आयोग रहेका छन् ।

अर्धवार्षिक वित्तीय प्रगति विवरण अनुसार यी मन्त्रालय, आयोग र कार्यालयले २० प्रतिशतभन्दा बढी र २७ प्रतिशतभन्दा कम खर्च गरेका छन् ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ८ : २० बजे