३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, आशाको केन्द्र हो : प्रम प्रचण्ड



प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गरिने बताउनुभएको छ ।

आइतबार बिहान शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौंको २७ औँ वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘तपाईँहरूले यस केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्ने चाहना र माग राख्नुभएको छ। यसको प्रक्रियाबारे सरकारले पनि गम्भीरतापूर्वक लिनेछ। तपाईँहरू पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत यसको प्रक्रिया बुझ्नुस्। सरकार यस केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्न प्रतिबद्ध छ।’

प्रधानमन्त्रीले गङ्गालाल हृदय केन्द्र नेपाली जनताको आशा र भरोसाको केन्द्र भएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘गङ्गालाल हृदय केन्द्र देशभरका नेपाली जनताको आशा र भरोसाको केन्द्रका रूपमा स्थापित भएको छ। जनताले यसलाई मुटुरोगको उपचार र आफ्नो भरोसाको केन्द्रका रूपमा बुझेका छन्। यसका लागि तपाईँहरू धन्यवादको पात्र हुनुहुन्छ। यसले आम रूपमा जनताको स्वास्थ्यप्रतिको संवेदनशीलतालाई प्रमाणित गर्दछ।’

‘यो केन्द्र केवल स्वास्थ्य केन्द्र मात्रै होइन, यसको नामले नै केन्द्रको औचित्य प्रमाणित गर्दछ’ प्रधानमन्त्रीले भन्नुभयो, ‘शहीद गङ्गालाल हामी सबैले सम्मान गर्ने नाम हो। तानाशाहीविरोधी, निरंकुशताविरोधी आन्दोलनका क्रममा शहादत प्राप्त गर्ने व्यक्तित्वको नाममा स्थापित हुनुको नाताले यस केन्द्रको भूमिका मुटुरोगका साथै लोकतन्त्रको सुदृढीकरण र सामाजिक न्यायसँग पनि जोडिएको छ। विपन्न वर्गलाई सहज स्वास्थ्य सेवा प्रवाह गरेर यहाँहरूले लोकतन्त्र र सामाजिक न्यायप्रतिको भूमिका पूरा गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।’

‘हामीले निकै मेहनत गरेर नयाँ संविधान जारी गरेका छौँ। संविधानमा सामाजिक न्याय र समानतालाई उच्च महत्त्व दिइएको छ। संविधानमा नै स्वास्थ्यलाई मौलिक अधिकारको रूपमा लिपिबद्ध गरिएको छ। तर, ती मौलिक हक कार्यान्वयन गर्ने प्रयोजनका लागि कानुनहरू बनाउन बाँकी नै छ। नेपाल सरकार संविधानले परिकल्पना गरेअनुसारका नयाँ ऐनहरू यथाशीघ्र संसद्मा पेस गर्ने प्रक्रियामा छ। तपाईँहरूसमक्ष म यो विश्वास दिलाउन चाहन्छु।’

प्रधानमन्त्रीले भन्नुभयो, ‘मेरो दोस्रो प्रधानमन्त्रीकाल स्वास्थ्य क्षेत्रको विकासका निम्ति महत्त्वपूर्ण रह्यो। उक्त कार्यकालमा स्वास्थ्य बीमा लागू गरियो। विभिन्न प्राणघातक रोगको उपचारमा जनतालाई राज्यले सहयोग गर्ने प्रबन्ध गरियो। प्रत्येक स्थानीय तहमा आधुनिक अस्पताल निर्माणको निर्णय लिइयो। स्वास्थ्य सेवालाई देशैभरि बिस्तार गरियो। मेरो तेस्रो कार्यकालमा सातै प्रदेशमा विशेष स्वास्थ्य क्षेत्रसहित प्रदेश अस्पतालहरू निर्माण गरिनेछ। त्यसमा मुटुरोगको युनिट पनि राखिनेछ।’

प्रधानमन्त्रीले आफू चुनौतीपूर्ण परिस्थितिमा प्रधानमन्त्री बनेको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, ‘अर्थतन्त्रको स्थिति तपाईँहरूलाई थाहा नै छ। समाज निराशातिर जाने हो कि भन्नेखालका आशङ्का छन्। यस्तो परिस्थितिमा मैले सरकारको नेतृत्व गरेको छु। तसर्थ, हामीले देशलाई नयाँ उत्साह दिनुपर्ने छ। शिक्षा, स्वास्थ्य, रोजगारी, वैदेशिक रोजगारी, विकास र समृद्धिका क्षेत्रमा केही नयाँ गर्नुछ। यसका लागि तपाईँहरूको पनि सहयोग रहने मेरो विश्वास छ।’

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ३ : ३६ बजे