अमेरिकी उपसहायक विदेशमन्त्री अफ्रीन अख्तर काठमाडौंमा आइपुगेकी छन् । उनी दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने अमेरिकी उप–सहायक विदेशमन्त्री हुन् ।
अफ्रीन अख्तरको नेपाल आगमन अमेरिकाबाट पछिल्लो समय भएको लगातार तेस्रो भ्रमण हो । यसअघि राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड र यूएसएआईडीकी प्रमुख समान्था पावरले नेपालको भ्रमण गरिसकेका छन् ।
अमेरिकी राजदूतावासका अनुसार उपसहायक विदेशमन्त्री अख्तरले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड) तथा ऊर्जा नेपालका साझेदारहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।
दुईदिने नेपालको औपचारिक भ्रमणका दौरान उनले नेपाली सेना र सरकारी अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । ‘जलवायु परिवर्तन, स्वच्छ ऊर्जा, मानवीय सहायता तथा विपद् प्रतिकार्यका विषयमा अनि लोकतन्त्र, मानव अधिकार तथा पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउने विषयमा छलफल गर्नु हुनेछ,’ दूतावासको भनाई छ ।
अर्को साता पनि अमेरिकाबाट भ्रमण हुँदैछ । यससँगै एक महिनाको अवधिमा लगातार चार भ्रमण हुनेछन् ।अफ्रीन अख्तरको भ्रमणपछि अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्को दक्षिण एसियाकी वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचार नेपाल भ्रमणमा आउने भएकी छन् । पछिल्ला एक महिनामा लगातार रुपमा अमेरिका, भारत र चिनियाँ कुूटनीतिज्ञहरुको नेपाल भ्रमण भएको छ ।
प्रतिक्रिया