१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


प्रधानमन्त्रीमा १७ पटक पराजित पौडेल राष्ट्रपति बन्ने निश्चित



पहिलो संविधान सभामा प्रधानमन्त्रीका लागि १७ पटकसम्म असफल भएका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल तेस्रो राष्ट्रपति बन्ने लगभग निश्चित भएका छन् । तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्रीबाट राजनीनामा दिएपछि पौडेल १७ पटकसम्म प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गरेका थिए । निरन्तरको प्रयास असफल भएपछि तत्कालिन माओवादीका उपाध्यक्ष डाक्टर बाबुराम भट्ट्राई प्रधानमन्त्री बनेका थिए ।

संसद्को ठूलो दल नेपाली कांग्रेसले दुई महिनाअघि आफ्नै नेतृत्वको गठबन्धन जोगाउन नसकेर सत्ता गुमाएपनि राष्ट्रपतिमा भने बहुमत जुटाउने निश्चित भएको हो । संसद्मा प्रतिनिधित्व गर्ने आठ राजनीतिक दलले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसलाई समर्थन र सहयोग गर्ने सहमति दिएका छन् । सात राजनीतिक दलले उम्मेदवार कसलाई भन्ने जिम्मेवारी कांग्रेसमाथि नै छोडेका छन् ।

कांग्रेसले राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने औपचारिक निर्णय गरिसकेको छैन । तर, वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने करिब निश्चित भइसकेको छ ।

सभापति शेरबहादुर देउवाले राष्ट्रपतिको उम्मेदवार छान्न शनिबार बिहान साढे आठ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । शनिबार विहान ८ स् ३० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा राष्ट्रपतिको उम्मेदवार चयन गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

राष्ट्रपतिमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको चर्चा छ । नेताहरूले गोपालमान श्रेष्ठ र मानबहादुर श्रेष्ठको नाम पनि लिने गरेका छन् । तर, सभापति देउवाले यसअघि नै वरिष्ठ नेता पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउन वचन दिइसकेका छन् ।

नेताहरूका अनुसार देउवाले प्रधानमन्त्री दाहालसहित शीर्ष नेताहरूसँग समेत पौडेललाई राष्ट्रपति बनाउने समझदारी गरेका छन् । राष्ट्रपति निर्वाचनलक्षित सबै छलफलमा पौडेलको सक्रिय सहभागिता छ । यसबीचमा उनले प्रधानमन्त्री दाहालसहित अन्य दलका नेताहरूसँग समेत छुट्टा–छुट्टै भेट गरेर आफूलाई राष्ट्रपति बनाउने बातावरण बनाउन प्रयास गरेका थिए ।

पौडेलले प्रतिनिधिसभाको बैठकमै राष्ट्रिय सहमतिबाट देशलाई अघि बढाउनुपर्ने बोलेपछि नै प्रधानमन्त्री दाहालले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति गर्नुपर्ने प्रस्ताव अघि सारेका थिए ।

त्यसो त १४ औँ महाधिवेशनदेखि नै देउवाले पौडेललाई वचन दिएर आएका छन् । महाधिवेशनमा अघोषितरुपमा देउवालाई सहयोग गरेका पौडेलले दुई महिनाअघि मात्रै संसदीय दलको निर्वाचनमा देउवाको प्रस्तावक नै बसेर सहयोग गरे । नेताहरूका अनुसार त्यहीबेला देउवाले आफ्नो समूहका नेताहरूसँग पौडेललाई राष्ट्रपति बनाउने निर्णय गराएका थिए ।

देउवाले पार्टीभित्रै नेताहरूसँग समेत पौडेललाई राष्ट्रपति बनाउन वचन दिइसकेको बताउँदै आएका छन् । सभापति देउवाले आफैँ उम्मेदवार बन्न चाहेको अवस्थामाबाहेक पौडेल नै राष्ट्रपतिको उम्मेदवार भएको एक पदाधिकारीले बताए । ‘सभापतिजी आफैँ उम्मेदवार बन्न चाहनुभएको छैन । उहाँ नै उम्मेदवार बन्न चाहे हो, नभए रामचन्द्र दाइको विकल्प छैन,’ ती पदाधिकारीले भने, ‘अरु पनि शीर्ष नेताहरूकै दाबी त छ, तर अहिले त्यस्तो संभावना छैन ।’

प्रवक्ता महतले शीर्ष नेताहरूबाटै राष्ट्रपतिमा दाबी भएका कारण पार्टीभित्र छलफल गरेर मात्रै औपचारिक निर्णयमा पुग्ने बताए । ‘शीर्ष नेताहरूको दाबी छ, सबै अब्बल हुनुहुन्छ, हामी भोलि बिहान छलफल गरेर टुंगो लगाउँछौँ,’ उनले भने ।

देउवाले पौडेललाई वचन नै दिइसकेको सुन्दा पनि नेता सिटौलाले समेत आश मारिसकेका छैनन् । उनीनिकट नेताहरूका अनुसार सिटौलाले पनि लबिङ गरिरहेका छन् । तर, १३ औँ महाधिवेशनदेखि नै देउवाको सहयोगी बनेका पौडेल पछिल्लो समय चुनावी गठबन्धन र राष्ट्रपति निर्वाचनमा समेत दलहरूबीच सहमतिको बातावरण बनाउनेमध्येमा पर्छन् । १२ बुँदे सम्झौता र शान्ति प्रक्रियामा समेत तत्कालिन सभापति र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको विश्वासपात्र बनेर माओवादी अध्यक्ष दाहालसँग संवाद गरेका सिटौला त्यसबेलादेखिको सम्बन्धलाई आधार बनाएर दाहालसँग राष्ट्रपतिका लागि वातावरण बनाउन पहल गरिरहेका छन् ।

२५ फागुनमा हुने राष्ट्रपतिको निर्वाचनकालागि शनिबार बिहान १० बजेदेखि ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ७ : ५४ बजे