११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


उपराष्ट्रपति निर्वाचनको तयारी पूरा, भोलि मतदान



उपराष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको छ । शुक्रबार नयाँ बानेश्वरको संसद भवनमा हुने उपराष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयका प्रमुख महेश शर्मा पौड्यालले चुनावका लागि मतदान केन्द्र निर्माण, मतपत्रको तयारी लगायत सम्पूर्ण तयारी पूरा भएको रातोपाटीलाई जानकारी दिए ।

मतदानका लागि संसद भवनको ल्होत्से हलमा २ वटा मतपेटिकाको व्यवस्था गरिएको छ । मतदान बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म गरिने र ४ बजेदेखि मतगणना सूर गरेर साँझ ७ बजेसम्म मतपरिणाम आइसक्ने उनको भनाई छ । निर्वाचनमा ४ जना उम्मेदवार प्रतिष्पर्धामा रहेका छन् । सत्ता गठबन्धन दलबाट ३ जनाको उम्मेदवारी परेको छ भने प्रतिपक्षी दलबाट एकजनाको उम्मेदवारी परेको छ ।

सत्ता गठबन्धनमा सहभागी समेत रहेका जनमत, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी दल बाहेकको समर्थनमा रामसहायप्रसाद यादव, प्रमिला कुमारी यादवको उम्मेदवारी दर्ता छ । यद्यपि प्रमिला कुमारीले विज्ञप्तिमार्फत आफूले उम्मेदवारी फिर्ता लिएको बताउँदै रामसहायलाई भोट मागेकी छिन् ।

यस्तै सत्ता गठबन्धनमा रहेको जनमत पार्टीबाट ममता झा उम्मेदवार रहेकी छिन् । उपराष्ट्रपति निर्वाचनमा झा को पक्षमा नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टीले कार्यगत सहकार्य गर्ने जनाएका छन् ।
यस्तै नेकपा एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्य चुनावी प्रतिस्पर्धामा रहेकी छिन् । निर्वाचनमा एउटा मतदान केन्द्रमा ७ जनासम्म कर्मचारी खटिनेछन् । सो निर्वाचनमा संघीय संसदका ३३२ र प्रदेशसभा तर्फका ५५० सांसद मतदाताका रुपमा रहेका छन् ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  १२ : १० बजे