२२ चैत्र २०८१, शनिबार | Sat Apr 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


रामकोटधाम

एक पटक पुग्नै पर्ने धाम हो, रामकोटधाम




सनातन वैदिक धर्म र संस्कृत वाङ्मय संरक्षण केन्द्रका रूपमा प्रतिष्ठित बागलुङ काठेखोला गाउँपालिका ५ , नम्बर वडामा रहेको छ । धार्मिक आस्थाको धरोहर श्री त्रिपुरेश्वर महादेव मन्दिर, रामकोटधाम । बागलुङ बजारबाट एक घण्टाको सवारी यात्रापछि पुग्न सकिने यस धाममा विक्रम सम्वत् २०२९ सालबाट राष्ट्रसन्त स्वामी परमानन्द सरस्वती महाराजका बाहुलीबाट नित्य सात्त्विक पूजा शुभारम्भ भएको हो ।

यहीँ नजिकै शिवधुरी गुफा छ, त्यस गुफामा राष्ट्रसन्त र उहाँका शिष्यहरूले पनि ब्रह्मसाधना गरेको पाइन्छ । यस त्रिपुरेश्वर महादेव मन्दिर ,रामकोटधाममा सनातन संस्कृतिसँग सम्बन्धित प्रायस् सबै पर्वहरू मनाइन्छ ।बालाचतुर्दशी , शिवरात्री, साउने सोमबार भक्तजनहरूको भीडभाड हुने गर्दछ ।जेठ ११ गते यहाँ विशेष मेला लाग्छ।त्यस दिनलाई रथयात्रा महोत्सव भनिन्छ ।रथयात्राका दिन यस क्षेत्रका कृषक, शैक्षिक संस्थानहरू, अधिकांश तह र तप्काका नागरिकहरू हर्षोल्लासपूर्वक रथयात्रा महोत्सवमा सहभागी हुने प्रचलन छ ।

आश्रम परिसरमा क्रमशः लोप हुँदै जान थालेको संस्कृत भाषा जोगाइ राख्न गुरुकुल सञ्चालन गरिएको छ ।गुरुकुलमा वटुकहरूले रुद्री, चण्डी, गीता, भागवत ,कर्मकाण्ड र ज्योतिष विषयको आधारभूत ज्ञान सिकिरहेका छन् । सुरुवाती वर्षहरूमा तपस्थली, विद्याकेन्द्र ,योगभूमि, ब्रह्म(कर्मसाधना वा आध्यात्मिक ऊर्जा प्रसारण केन्द्रका रूपमा स्थापित भएको यस धाममा अहिले भने राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्ग, काठेखोला चक्रपथ लगायतअन्य शाखा सडक सञ्जालको व्यवस्था भएपछि यहाँ दर्शनार्थी भक्तजनहरूको निकै चहलपहल बढेको छ ।


मन्दिरको मुख्य ढोका पूर्वतर्फ फर्केको छ । आँखीझ्याल, टुँडाल, दाँची इट्टा र छानामा तामाको प्रयोगले मन्दिर आकर्षक बनेको छ ।मन्दिरको मूल गर्भमा नर्मदा नदीबाट ल्याएर विशाल शिवलिङ्ग प्रतिष्ठापन गरिएको छ ।उक्त शिवलिङ्गको आराधनाबाट भक्तहरूका सबै खालका मनोरथ पूरा भइराखेकोमा आश्रम व्यवस्थापन सन्तुष्ट देखिन्छ ।

स्वर्ग, मर्त्य र पाताललाई त्रिपुर भनिन्छ ।स्थूलशरीर, सूक्ष्मशरीर र कारणशरीरका मल नाश गरेर निर्मल बनाउने भक्तवत्सल, आशुतोष शङ्करको प्रतीकका रूपमा यस धामका शङ्करको नाम त्रिपुरेश्वर राखिएको छ । यदाकदा पौराणिक आख्यानअनुसार त्रिपुरासुरलाई बध गरेको प्रसङ्गलाई लिएर पनि त्रिपुरेश्वर नाउँ राखिएको पाइन्छ । यहाँ भने विशुद्ध परमार्थ शिरोमणि, योगीश्वर ,देवाधिदेव महादेवको सात्त्विक भावनाले आराधना गर्ने सङ्केतका लागि त्रिपुरेश्वर नामकरण गरिएको भनिन्छ ।

काठेखोला गाउँपालिका र गण्डकी प्रदेश सरकारले धार्मिक पर्यटकीय क्षेत्रमा सूचीकृत गरी आावश्यक भौतिक पूर्वाधार संरचना विकास विस्तार गरिरहेका छन् । प्यागोडा शैलीमा निर्माण भएको त्रिपुरेश्वर महादेव मन्दिर भक्तपुरका कालीगढले निर्माण गरेका हुन् । यस मन्दिर निर्माणको क्रममा जग खन्दा भेटिएका करुवा, ताउला, त्रिशूल, तामाका कलशले यस धामको पुरातात्त्विक दृष्टिकोणबाट पनि अध्ययन गर्नुपर्ने आवश्यकता देखाएको छ ।

स्थानीयहरू यसलाई शिवालय वा रामकोटधामका नामले चिनाउँछन् । रामकोटधाममा समय समयमा ठूला ठूला महायज्ञहरू समेत हुने गरेका छन् । यहाँ आयोजना गरिएका महायज्ञहरूमा देश विदेशबाट लब्धप्रतिष्ठित महात्मा, विद्वान र साधकहरूको श्रद्धा गर्न योग्य सहभागिता रहने गर्दछ । यहाँ परम्परित गुरुकुल, सन्न्यास आश्रम, गौशाला, वाचनालय, ध्यानकेन्द्र र भोजनालयको राम्रो प्रबन्ध छ ।

यहाँको आम्दानीको स्रोत भनेको स्वैच्छिक दान, चन्दा, सहयोग र गुरुभेटी नै हो । मन्दिर वरपरको आकर्षक पदमार्ग, स्वच्छ प्राकृतिक परिवेश, मिलेको टापु, चारैतिर फैलिएको जङ्गल, अनेकन हिमश्रृङ्खलाहरूको लोभलाग्दो दृश्यको दर्शन,शान्त एकान्त स्थानमा भव्य आश्रम भएकाले पनि दर्शनार्थीहरूले यहाँ आउँदा छुट्टै आनन्दको अनुभूति हुने कुरा बताउँछन् ।
मन्दिरमा पूजा आरती सुरुभएपछि जङ्लका कालिजहरू चारो खान हरेक दिन बिहान साँझ मन्दिर परिसरमा आउँछन् ।आश्रमका महात्माहरूले हातमै दिएको चारो सजिलै निर्भय भएर खान्छन् । नैसर्गिक शान्ति र आनन्दको भरपूर स्वाद लिन एकपटक पुग्नैपर्छ, रामकोटधाम । हामी पुगिसकेका छौँ, तपाईं नि१ नेपालीमा उखान छ नि नमरी स्वर्ग देख्न पाइन्न ! लेखक : ब्रह्मचारी हंस चैतन्य, रामकोट धाममा आवद्ध हुनुहुन्छ ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  ९ : ३६ बजे