नेपालमा लामो समयदेखि बसेर सुन तस्करीमा संलग्न भएका चिनियाँ गिरोहसँग नेपाली नागरिकता र पासपोर्टसमेत भेटिएको छ । चारजनाले काभ्रेबाट तथा एकजनाले काठमाडौंबाट नागरिकता तथा पासपोर्ट बनाएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुवेर कडायतले बताए । ‘उनीहरूसँग चिनियाँ पासपोर्ट पनि छ, नेपाली पासपोर्ट पनि भेटिएको छ,’ प्रवक्ता कडायतले भने, ‘यस विषयमा छुट्टै अनुसन्धान भइरहेको छ ।’
ली नेनकाईले सोनाम लामाको नाममा र डिङ सी फाले राम लामाको नाममा काभ्रेबाट नागरिकता लिएका छन् । तियान मी र वेन तोङसँग पनि काभ्रेबाट जारी भएको नागरिकता भेटिएको छ । त्यसैका आधारमा उनीहरूले पासपोर्टसमेत लिइसकेका थिए । ली वेनले भने जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लिएको सिआइबीले जनाएको छ ।
गिरोहका नाइकेमध्येका एक दावा तामाङले पनि काभ्रेबाटै निमा तामाङको नाममा नागरिकता र पासपोर्ट बनाएको यसअघि नै पुष्टि भइसकेको छ । जसमा प्रहरीले एक वर्षअघि नै छानबिन गरे पनि त्यसमा कुनै कारबाही नगरेको पाइएको छ । नेपाली महिलासँग बिहे गरी ठमेलमा होटेल चलाउँदै आएका दावासँग बेल्जियमको समेत पासपोर्ट छ । पक्राउ परेकामध्ये थुप्तेन छिरिङ र याओ पुसिङसँग भारतीय आधारकार्ड भेटिएको नयाँ पत्रिकाले लेखेको छ ।
प्रतिक्रिया