७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


काठमाडौँमा द्रुत बस सेवा सुरु



काठमाडौँमा बुधबार देखि द्रुत बस सेवा सञ्चालनमा आएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले संविधान दिवसको अवसर पारेर द्रुत बस सञ्चालन गरेको हो ।

द्रुत बसको शुभारम्भ रत्नपार्कबाट भएको छ । द्रुत बस सञ्चालन हुने रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सडकमा डेडिकेटेड लेन छुट्याइएको छ । विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले भन्नुभयो, “सडकमा रातो रङले डेडिकेटेड लेन छुट्याइएको छ । द्रुत बस सञ्चालन हुने समयमा अत्यावश्यकबाहेकका सवारीसाधन उक्त लेनमा प्रवेश गर्न पाउने छैनन् ।”

हाललाई बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ४ देखि ६ बजेसम्म द्रुत बस सञ्चालन गर्न लागिएको हो । शुभारम्भको दिन दुई वटा बस सञ्चालन हुने र असोज ४ देखि बस थप गरी नियमित सञ्चालन हुने जानकारी पनेरूले दिनुभयो ।

ट्राफिक व्यवस्थापनका साथै यात्रुको सुविधाका लागि द्रुत बस सञ्चालन गर्न लागिएको हो । रत्नपार्क–सूर्यविनायक सडकमा नमुनाका रूपमा सञ्चालन गरिए पनि बिस्तारै द्रुत बस सेवा विस्तार गरिने विभागले जनाएको छ ।

द्रुत बस सेवा सञ्चालनका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा विभागले २५ वटा ठुला बसको व्यवस्थापन गरेको छ । द्रुत बस गुड्ने डेडिकेटेड लेनमा तोकिएको समयमा अन्य सवारीसाधन चलाउन पाइने छैन । एम्बुलेन्स, शववाहन, दमकल, कर्मचारी बोक्ने बस भने उक्त लेनमा चलाउन पाइने छ ।

विभागका अनुसार ट्राफिकको रातो बत्तीमा पनि द्रुत बस रोकिँदैनन् । एम्बुलेन्स तथा अत्यावश्यक सवारीसाधन जस्तै गुड्ने छन् । सूर्यविनायकदेखि रत्नपार्क ४५ मिनेटमा पुगिने प्रवक्ता पनेरूले बताउनुभयो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सरकारले संविधान दिवसको अवसर पारेर द्रुत बस सेवा सञ्चालनमा ल्याउन लागेको जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकारले भक्तपुरको सूर्यविनायकदेखि काठमाडौँसम्म द्रुत बस सेवा सञ्चालन गर्न लागेको हो । यसका लागि अलग्गै लेन तयार गरिसकेको उहाँले जानकारी दिनुभयो । उपत्यकामा धेरै ट्राफिक जाम र सार्वजनिक यातायातमा सवार व्यक्ति समयमा गन्तव्यमा पुग्न कठिन भएपछि द्रुत बस सेवा सञ्चालनमा ल्याउन लागेको उहाँको भनाई छ ।

भट्टका अनुसार द्रुत बस सेवा अत्यधिक जामको समय बिहान ९ देखि ११ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुने भएको छ । भट्टले भन्नुभयो, “पहिलो चरणमा द्रुत बस सेवा रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सञ्चालन हुनेछ । अत्यधिक जामको बेला सूर्यविनायकदेखि रत्नपार्कसम्म सार्वजनिक यातायातमा आउँदा १ घण्टा ३० मिनेट लाग्ने गरेको छ भने द्रुत बस सेवा सञ्चालन भएपछि जामको बेला पनि ४५ मिनेटमा पुग्न सकिनेछ ।”

त्यसका लागि ३० सिटभन्दा माथिका करिब २५ बस सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“द्रुत बस सेवा सञ्चालनका लागि छुट्टै लेन, बसको रङ नै फरक हुनेछ । द्रुत बस सेवाको सडक लेन बनाइएको छ ।”

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ८ : २३ बजे