२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


राष्ट्रपति पौडेल पूजा अर्चनामा व्यस्त



राष्ट्रपति रामचन्द्र पौडेलले महाअष्टमीको शुभ अवसरमा पलान्चोक भगवतीको दर्शन तथा पूजा अर्चना गर्नुभएको छ । राष्ट्रपति पौडेलसँग प्रथम महिला सविता पौडेल पनि पूजा अर्चनामा सहभागी हुनुहुन्थ्यो ।

राष्ट्रपति पौडेल पलान्चोक भगवती मन्दिरमा दर्शन गर्न आइतबार बिहान पाँचखाल आउनुभएको हो । दसैँका अवसरमा महाअष्टमीको दिन राष्ट्रप्रमुखले पलान्चोकसहित नवदुर्गा भगवतीको दर्शन तथा पूजा अर्चना गर्ने परम्परा रहिआएको छ । काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका –९ स्थित पलान्चोक भगवतीको मन्दिर नेपालमा रहेका भगवतीको मन्दिरमध्ये सबैभन्दा पुरानो मन्दिरको रूपमा परिचित छ ।

पलान्चोक भगवतीको मन्दिर करिब एक हजार ६ सय ५५ वर्ष पहिले अर्थात् इस्वी संवत् ४२५ सालमा निर्माण भएको हो । पलान्चोक भगवतीलाई दुर्गा भगवतीको जेठी दिदीको रूपमा समेत लिने गरिन्छ । जिल्लाको बुच्चाकोट भन्ने स्थानमा रहेको पलान्चोक भगवतीको मूर्ति एक रात स्थानीय वृद्धको सपनामा प्रकट भई आफू रहेको स्थानबाट उत्तरतर्फ सार्न आग्रह गरेको किंवदन्ती छ ।

भगवतीको मूर्तिलाई उत्तरतर्फ लैजाने क्रममा हालको मन्दिर रहेको स्थानमा पुग्दा रात परेपछि त्यहीँ बास बसेको र भोलिपल्ट बिहान त्यहाँबाट मूर्तिलाई अन्यत्र लैजान स्थानीय ६० घरधुरीको मद्दतबाट पनि भगवतीको मूर्ति बोक्न नसकेपछि सोही स्थानमा राखी पूजाआजा गर्दै आएको किंवदन्ती रहेको मन्दिरका पुजारी शैलेश्वर बज्राचार्यले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  १२ : ०० बजे