६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


गण्डकीमा माओवादीबाट सहिद पत्नी शर्मा उम्मेदवार



नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार तय गरेको छ। गण्डकीमा महिला क्लस्टरबाट माओवादी केन्द्रकी मनरुपा शर्मा उम्मेदवार बन्ने निश्चित भएको हो।

पर्वतको कुस्मा नगरपालिका वडा नम्बर १० की बासिन्दा शर्मा सहिद परिवारकी सदस्य हुनुहुन्छ। उहाँका श्रीमान् विजय सुवेदीको माओवादी विद्रोहका क्रममा २०५९ मा स्याङ्जाको सिर्सेकोटको निधन भएको थियो।

नेकपा माओवादी केन्द्र पर्वत जिल्ला संयोजक शर्मा ०६० सालदेखि माओवादी केन्द्रमा सक्रिय हुनुहुन्छ। माओवादीकी प्रदेश कमिटी सदस्य उहाँ ०६४ सालमा संविधान सभा सदस्य उम्मेदवार हुनुहुन्थ्यो।

सत्ता गठबन्धनमा गण्डकीका बाँकी दुई स्थानमा नेपाली कांग्रेसले उम्मेदवारी दिने तय भएको छ। कांग्रेसले अन्य र अल्पसंख्यक तथा अपाङ्ग कोटाबाट उम्मेदवारी दिँदै छ। राष्ट्रिय सभामा रिक्त हुने २० मध्ये १९ पदका सोमबार मनोनयन दर्ता हुँदैछ। निर्वाचन भने माघ ११ गते हुँदैछ।

यता, नेकपा एमालेले पनि उम्मेदवार तय गरेको छ। एमाले प्रदेश अध्यक्ष नवराज शर्माले अन्य क्लस्टरबाट मोहनलाल शर्मा, महिलाबाट सम्झना देवकोटा र अपाङ्ग, अल्पसङ्ख्यक क्लस्टरबाट हेमन्त शेरचन उम्मेदवार बन्ने निर्णय भएको छ।

नेपाली कांग्रेसले उम्मेदवार छान्न बाँकी छ। कांग्रेस गण्डकीले पुस १० गते नै एक सय अठहत्तर जनाको नाम उम्मेदवारका लागि केन्द्रमा सिफारिस गरेको थियो।

गण्डकीमा एक्ला एक्लै चुनाव लड्ने हो भने कांग्रेस सबैभन्दा बलियो छ। गण्डकीमा प्रदेश सभामा ६० सदस्य र ८५ पालिकाबाट एक सय ७० मतदाता छन्। प्रदेश सभातर्फ तीन हजार एक सय ८० र स्थानीय तहतर्फ तीन हजार दुई सय ३० मतभार छ। प्रदेशमा कुल मतभार छ हजार चार सय १० छ।

प्रदेश सभामा कांग्रेसका २७ सदस्य छन् भने स्थानीय तहतर्फ प्रमुख र उपप्रमुख गरेर ६७ जना छन्। यसरी कांग्रेसको मतभार दुई हजार तीन सय २४ छ। एमालेका २२ प्रदेश सभा सदस्य, पालिका प्रमुख ३५ र उपप्रमुख ३३ जना छन्। एमालेको कुल मतभार दुई हजार चार सय ५८ हुन आउँछ। तीमध्ये ढोरपाटन नगरपालिकाका प्रमुख देवबहादुर नेपाली सरकारी ठगी आरोपमा पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन हुनुहुन्छ।

प्रदेशमा माओवादीसँग आठ प्रदेश सभा सदस्य, पालिका प्रमुख ११ र उपप्रमुख १९ जना छन्। माओवादी केन्द्रसँग नौ सय ९४ मतभार देखिन्छ। प्रदेशमा एकीकृत समाजवादीका एक प्रदेश सभा सदस्य र एक नगर प्रमुख छन्। यहाँ समाजवादीसँग ७२ मतभार छ।

प्रदेश सभामा प्रतिनिधित्व नरहेको राष्ट्रिय जनमोर्चाका पालिका प्रमुख दुई र उपप्रमुख एक हुँदा मतभार ५७ छ। दुई प्रदेश सभा सदस्य रहेको राप्रपाको एक सय छ मतभार छ। मनाङको निस्याङ गाउँपालिका उपाध्यक्ष छिरिङ गुरुङले स्वतन्त्रबाट जित्नुभएको हो।

अहिले सत्ता गठबन्धनमा रहेका दल कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा मिल्दा गठबन्धनको मत तीन हजार आठ सय २७ हुन्छ। यसरी गठबन्धनकै साझा उम्मेदवार मैदानमा आएमा उनीहरू सबै विजयी हुने अङ्कगणित देखिन्छ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ७ : २५ बजे