१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


ठुला पूर्वाधारमा युरोपको लगानी आउने



नेपालमा ठुला पूर्वाधार आयोजनामा युरोपेली सङ्घ इयूले सहयोग क्षेत्र विस्तार गर्ने भएको छ । सहयोग जलवायु परिवर्तनको विश्वव्यापी समस्या र त्यसबाट नेपाललाई परेको असर कम गर्न नवीकरणीय ऊर्जाको क्षेत्रका केन्द्रित हुने भएको छ ।

त्यसक्रममा युरोपियन इन्भेस्टमेन्ट बैङ्क इआइबीले पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी गृहकार्य भइरहेको नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेन्जोले जानकारी दिनुभयो । नेपाल र युरोपेली सङ्घबिच कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वर्षका अवसरमा आयोजना गरिने कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले लगानीबारे तथ्यगत रूपमा अहिले सबै बताउन नमिल्ने पनि उल्लेख गर्नुभयो ।

उहाँले नवीकरणीय ऊर्जाको क्षेत्रमा नेपालमा प्रशस्त सम्भावना रहेको र भारतसँग दीर्घकालीन विद्युत् व्यापार सम्झौताले यसको सम्भावना अरू बढाएको बताउनुभयो । उहाँले नेपालले १० हजार मेगावाट विद्युत् उत्पादन गरेर भारत र बङ्गलादेशमा बिक्री गर्ने योजना बनाइरहेकाले सो क्षेत्रमा पनि लगानी गर्न सङ्घ उत्सुक रहेको जानकारी दिनुभयो ।

नेपालको शान्ति र समृद्धिका लागि साझेदारी गर्ने सङ्घको उद्देश्य अनुसार त्यो साझेदारी आर्थिक तथा सामाजिक विकासका लागि सङ्घले केन्द्रित गर्ने छ । उहाँका अनुसार कुन मोडलमा तथा कुन कुन क्षेत्रमा लगानी गर्न सकिन्छ भन्नेबारे आवश्यक परामर्श चलिरहेको छ । नेपालमा हुन लागेको लगानी सम्मेलनताका यसको केही खाका आउने सम्भावना रहेको छ ।

हालसम्म नेपालमा विश्व बैङ्क र एसियाली विकास बैङ्कजस्ता ठुला बैङ्कले लगानी गर्दै आएकोमा युरोपेली इन्भेस्टमेन्ट बैङ्क अर्को ठुलो लगानीकर्ताका रूपमा नेपाल भित्रिन लागेको हो ।

युरोपियन इन्भेस्टमेन्ट बैङ्क सङ्घका सदस्य मुलुकमा लगानीलाई बढी महत्व दिने गरेकोमा अब मित्रराष्ट्र मुलुकमा लगानीको अवसर प्रदान गर्ने उद्देश्य राख्दै नेपाल भित्रन लागेको हो । उक्त बैङ्कले ऋण लगानी, समावेशी लगानी, सहयोगमा आधारित लगानी र साझेदारीयुक्त लगानी अन्तर्गत विविध क्षेत्रलाई प्राथमिकीकरण गरेर लगानी गर्दै आएको छ ।

नेपालले तोकिएका क्षेत्रमा सरकारले सङ्घसँग गरेको परामर्श र सम्झौताका आधारमा लगानीको अवसर लिन सक्ने छ । त्यसका लागि सङ्घले नेपालको सोह्रौँ पञ्चवर्षीय योजना पनि पर्खिरहेको राजदूत लोरेन्जोले बताउनुभयो । योजनाको सामाजिक सूचकाङ्कको प्राथमिकता अनुसार पनि नेपालसँग विविध क्षेत्रमा साझेदारी गर्न सकिने उहाँले स्पष्ट पार्नुभयो ।

सङ्घले सरकारको प्राथमिकताका नीतिसँगै निजी क्षेत्रको प्राथमिकताका क्षेत्रलाई लगानीमा समेट्ने छ । सन् २०२६ मा विकासशील मुलुकमा नेपालको स्तरोन्नतिका सवालमा युरोपेली देशहरूको समूह टिम युरोपले नेपालको विकासका तीन क्षेत्र समावेशी हरित् विकास, मानव संसाधन विकास र सुशासनका लागि दिइआएको सहयोगलाई निरन्तरता दिने भएको छ । जसमा पहिलो सुविधा अन्तर्गत नेपालले अति कम कार्बन उत्सर्जन गरे पनि ठुलो हानि बेहोर्नुपरेको तथ्य स्वीकार्दै जलवायु परिवर्तनका असर न्यूनीकरणका धेरै क्षेत्रमा सहयोग गर्ने छ ।

दोस्रोमा समतामूलक शिक्षामा सहयोग जारी रहने छ । तेस्रो आधारभूत सुविधामा नेपालको संविधानको कार्यान्वयन गर्दै जनताको पहुँच विस्तारमा सहयोग गर्ने छ । नेपाली जनताले रोजगारीलगायतका विभिन्न क्षेत्रमा सामना गरिरहेका चुनौती हटाउँदै उत्तरदायी सरकार निर्माणका लागि सहयोग गर्ने छ । त्यस्तै जिएसपी प्लस अन्तर्गतका विविध सुविधा लिनका लागि पनि सङ्घले सघाउने भएको छ । यो सुविधा लिन आवश्यक तीन वटा प्रतिबन्धमा नेपालले अनुमोदन गर्न आवश्यक भएकाले सो मापदण्ड पूरा गर्न सरकारलाई झकझक्याउने राजदूत लोरेन्जोले बताउनुभयो ।

नेपालको विकास साझेदारीमा सघाउने उद्देश्य पूर्तिका लागि सङ्घले विभिन्न कार्यक्रम घोषणा गरेको छ । जस अनुसार युरोपियन युनियन बिजनेस फोरमले आउँदो वैशाखमा आयोजना गर्ने भएको छ । त्यसका लागि प्रविधि, कृषि, पर्यटनलगायत नेपालका सम्भावित क्षेत्रमा लगानीका लागि युरोपेली मुलुकका लगानीकर्तालाई आकर्षित गर्ने योजना रहेको छ । सो फोरममा सहभागी हुँदै युरोपेली मुलुकबाट लगानीकर्ताले नेपालको आवश्यकता र माग बुझ्ने छन् । त्यस्तै नेपालमा युरोपियन चलचित्र महोत्सव आउँदो चैतमा आयोजना गर्दै छ । त्यस्तै भदौमा फोटो प्रतियोगता आयोजना पनि नेपालमा गरिँदै छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ७ : २३ बजे