नेपाली कांग्रेसका नेताहरूले केन्द्रीय समिति बैठकमा विशेष पूरक प्रस्ताव पेस गरेका छन्। केन्द्रीय सदस्य र प्रदेश सभापति गरी २२ नेताले कांग्रेस धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दु राष्ट्रको पक्षमा उभिन विशेष पूरक प्रस्ताव पेस गरेका हुन्।
पूरक प्रस्तावमा हस्ताक्षर गर्नेमा केन्द्रीय सदस्यहरू शंकर भण्डारी, दिलेन्द्र बडू, पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, प्रकाश रसाइली स्नेही, रंगमति शाही, विद्या तिमल्सिना, गेहेन्द्र गिरी, सीता देवकोटा, अर्जुनजंगबहादुर सिंह, सीता कुमारी, शारदा पौडेल, चम्पादेवी खड्का, नागिना यादव छन्।
यसैगरी, केन्द्रीय सदस्य नृपबहादुर बड, सञ्जय गौतम, भीम पराजुली, दिनेश कोइराला, मुक्ताकुमारी यादव र डा। डिला संग्रौलाले पनि हिन्दु धर्मको पक्षमा हस्ताक्षर गरेका छन्।
कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पनि धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दु धर्मको पक्षमा हस्ताक्षर गरेका हुन्।
कांग्रेसजस्तो व्यापक जनआधारमूलक प्रजातान्त्रिक पार्टीले नेपाली भूमिमा प्रादुर्भाव भएको बौद्ध एवं किराँत धर्म, दर्शन, संस्कृतिसहित ९४ प्रतिशतभन्दा बढी वैदिक सनातन हिन्दु धर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने जनताको भावनालाई पूरै उपेक्षा गरी राष्ट्रिय एकताका आधारहरू, आपसी सदभाव, सहिष्णुता, सहअस्तित्वको अभ्यासमा खलल पुग्ने गरी नेपाली कांग्रेस धर्मनिरपेक्षताको पक्षमा उभिएको उनीहरूको धारणा प्रस्तावमा उल्लेख छ।
वैदिक सनातन हिन्दु राष्ट्र नेपाल कायम गर्न त्रिवेणीधाममा भएको महासमिति बैठक र काठमाडौंमा सम्पन्न महासमितिको बैठकमा बहुमत महासमिति सदस्यहरूले सनातन हिन्दु राष्ट्रको माग गर्दै प्रस्ताव पेस गरेको विषय पनि उनीहरूले स्मरण गराएका छन्। नयाँपत्रिका
प्रतिक्रिया