४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


विराटनगर जुट मिल्समा आगलागी



बन्द अवस्थामा रहेको विराटनगर जुट मिल्समा आगलागी भएको छ । विराटनगर महानगरपालिका–१६ मा रहेको नेपालको पहिलो उद्योगमा मंगलबार राति आगलागी भएको हो ।

आगलागीबाट २० लाख बराबरको क्षति भएको मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले बताए ।

बन्द उद्योगमा कसरी आगलागी भयो भन्ने खुलेको छैन । कसैले आगो लगाएको जस्तो देखिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरी स्रोतले बतायो ।

‘आगो सुरु भएको स्थानमा विद्युत सर्ट हुनसक्ने सम्भावना नभएका कारण कसैले आगो लगाएको हुनसक्छ,’ प्रहरी स्रोतले भन्यो, ‘घटना शंकास्पद भएकाले दायरा फराकिलो बनाएर अनुसन्धान सुरु गरिएको छ ।’

बन्द अवस्थाको जुट मिलको ‘स्वप्नर ब्लिचिङ डिपार्ट’बाट राति ९ बजेतिर अचानक आगलागी सुरु भएको थियो । जुटका बोरा बनाउन प्रयोग गरिने धागोलाई अन्तिम रूप दिने डिपार्टबाट आगलागी सुरु भएको र बोरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ जलेको प्रहरीले जनाएको छ । मिलका दुई वटा पुराना मेसिनमा पनि क्षति पुगेको छ ।

विक्रम संवत् १९९३ सालमा स्थापना भएको विराटनगर जुट मिल नेपालको पहिलो उद्योग हो । विराटनगर जुट मिल्स २०७८ साल माघदेखि बन्द छ । पछिल्लो समय सरकारले बन्द रहेका उद्योग सुरु गर्न चासो देखाएपछि भारतीय व्यापारिक समूह बिड्ला ग्रुपले मिलको वस्तुस्थिति अवलोकन गरेको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र विराटनगर महानगरपालिकाका दमकलको सहयोगमा बुधबार राति १ बजेतिर आगो नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  १० : ५३ बजे