गीता घिमिरे
अटिजम एक स्नायु सम्बन्धी अवस्था हो जसले मानिसहरूको व्यवहार र सञ्चारलाई असर गर्ने गर्छ । अटिजम शब्द सन् १९११ मा पहिलो पटक सुरुवात भएको पाइन्छ ।
व्यक्तिमा अटिजमका लक्षण देखा पर्न थालेपछि खोज अनुसन्धान गर्ने क्रममा सन् १९४० मा डाक्टर लियो क्यानर र डाक्टर ह्यान्स एस्पर्जरले अटिजमलाई बुझन् थप प्रोत्साहन गरेसंगै यो थप प्रचलनमा आउन थालेको हो । विश्व अटिजम जागरूकता दिवस औपचारिक रूपमा संयुक्त राष्ट्र संघबाट सन् २००७ मा पारित भई दिवसको रुपमा स्थापित भएको हो । अटिजम स्पेक्ट्रम डिसअर्डर (एएसडी) बारे अनुसन्धान र समर्थन गर्ने देशहरूलाई प्रोत्साहित गर्न अप्रिल २ लाई विश्व अटिजम सचेतना दिवसका रुपमा विश्वभार मनाउन सुरु गरिएको हो । यस वर्ष २ अप्रिल २०२४मा “स्वीकारोक्ति र सशक्तताका साथ अब बाँच्ने मात्र हैन, प्रतिस्पर्धामा नै उत्रने” भन्ने मुल नाराका साथ यो दिवस मनाउन लागिएको हो ।
मस्तिष्क र स्नायुकोषहरूको स्वाभाविक विकासक्रममा हुने असमान अवस्थाको रूप अटिजम हो । यसलाई नेपालीमा आत्मकेन्द्रित व्यवहार समेत भनिन्छ । व्यक्तिको मस्तिष्कमा स्नायुकोषहरूको सञ्जालले राम्रोसँग काम नगर्दा सूचना प्रशोधनमा बाधा उत्पन्न हुन गई सामाजिक क्रियाकलाप, सञ्चारसीप र कल्पनाशक्तिको विकासमा असर पुग्दछ । जसले गर्दा सञ्चारमा विचलन, सामाजिक रूपमा घुलमिल हुन नसक्ने, पुनरावृत्ति, एकोहोरोपन, इन्द्रियहरूको उतारचढावको फलस्वरूप वातावरण, व्यक्ति र वस्तुप्रति भिन्दै प्रतिक्रिया र व्यवहार देखाउँछन् । बौद्धिक अपांगता वा अटिजम कुनै रोग होइन । मस्तिष्कको एक विशेष अवस्था मात्रै हो । जुन असामान्य र अस्वीकृत व्यवहारको रूपमा देखिन्छ ।
अटिजम हुनुका कारण र उपचारका क्षेत्रमा धेरै अनुसन्धान भइरहेका छन । तर, कारण र निर्मूल गर्ने उपाय अझै पत्ता लाग्न सकेको छैन । विश्वभर अटिजमले कति मानिसलाई असर ग¥यो भन्ने फरक–फरक अध्ययनका ठम्याइ पनि फरक–फरक नै देखिन्छन । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा एक प्रतिशत बालबालिकामा अटिजम देखिने गरेको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)को प्रतिवेदनअनुसार हरेक ५९ जनामध्ये एकजनालाई अटिजम हुने गरेको छ । त्यस्तै, अटिजमको असर छोरीहरूभन्दा छोराहरूलाई तीन–चार गुणा बढी असर गर्ने गरेको सिडिसीले जनाएको छ ।
अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) को एक अध्ययनले पछिल्लो समयमा अटिजम भएका बच्चाको संख्या बढ्दै गएको देखाउँछ । सन् २०२३ मार्चमा प्रकाशित तथ्याङ्कले २०१६ मा प्रति ५४ जना बच्चामध्ये एक जनामा अटिजम भएको देखायो भने सन् २०१८ मा प्रति ४४ बच्चामध्ये एक जनामा अटिजम भएको पाइएको छ । यता सन् २०२० मा यो दर बढेर प्रति ३६ बच्चामध्ये एक जनामा अटिजम हुने गरेको छ । नेपालमा जन्मेदेखि ४ वर्ष उमेर समूहका बालबालिकामा २१ दशमलव ९ प्रतिशतमा अटिजमको उच्च जोखिम रहेको तथ्याङ्क छ ।
अटिजम भएका व्यक्तिका दाजुभाइ तथा दिदीबहिनीमा अन्य व्यक्तिभन्दा २५ गुणा बढी अटिजम हुने कुरा यस तथ्यांकमा उल्लेख छ । नेपालमा कतिजनामा अटिजम छ भन्नेबारे विस्तृत अध्ययन नै भएको छैन ।
अटिजम भएका केही व्यक्तिमा बौद्धिक क्षमता तीक्ष्ण रहेको पाइएको छ भने केहीमा बौद्धिक अपांगता रहेको पाइन्छ । अटिजम भएका हरेक व्यक्तिमा अलग–अलग किसिमका लक्षण देखिन्छन । बालबालिका जन्मेको ६ महिनादेखि नै क्रमशः तीन वर्षसम्ममा यसका लक्षण प्रस्ट भइसक्छन्, वयस्क अवस्थामा पनि विभिन्न रूपमा रहन्छन । अटिजम निको पनि हुँदैन । विभिन्न थेरापी, विशेष शिक्षा, हेरचाह एवं तालिमबाट सामान्य विद्यालय जान सक्ने गरी उनीहरूलाई तयार गर्नुपर्छ । कतिपय बालबालिका सामान्य विद्यालय जान सक्ने अवस्थामै पुग्दैनन् र उनीहरूको विद्यालय शिक्षा पनि विशेष विद्यालयमा नै व्यवस्थापन गर्नुपर्दछ । वर्तमान अवस्थामा विश्वभरि नै अटिजम भएका बालबालिकाको जन्मदर बढ्दो छ ।
अटिजमका लक्षण
आफ्ना उमेरका बालबालिकासँग खेल्न नरुचाउने ।
असान्दर्भिक हँसाइ तथा रुवाइ ।
आँखामा आँखा जुधाउन नसक्ने ।
घाउचोट तथा दुखाइप्रति वास्ता नगर्ने ।
एक्लै बस्न रुचाउने तथा सामाजिकीकरण नहुने ।
सामानहरू घुमाइरहने तथा अँगालो हालेको मन नपराउने ।
बोलाउँदा नबोल्ने, साथै नसुनेको जस्तो भइदिने ।
आफ्नो आवश्यकताको सामान औँलाले नदेखाउने वा ठूलो मानिसको हात समातेर देखाउने, शब्दको प्रयोग नगर्ने । कल्पना गरेर खेल नखेल्ने वा दोहो¥याएर एउटै खेल खेलिरहने ।
शब्द वा वाक्य दोहो¥याउने । (जस्तै– तिम्रो नाम के हो भन्दा तिम्रो नाम के हो नै भन्ने)
खतरा नबुझ्ने साथै डर नहुने ।
सामान्य शिक्षण विधिबाट सिक्न नसक्ने ।
हरेक दिन एउटै काम गर्न रुचाउने तथा परिवर्तन नरुचाउने ।
शिक्षण विधि तथा प्रक्रिया
बौद्धिक अपांगता एवं अटिजम भएका बालबालिका र युवालाई व्यवहारोपयोगी शिक्षा दिई परिवार तथा समाजमा सजिलै पुनस्र्थापना गराउनुपर्छ ।
अटिजम भएका बालबालिकाका लागि आवश्यक थेरापीसहित क्षमतानुकूलको शिक्षा उनीहरूको मौलिक अधिकार हो । जनचेतनाको अभावका कारण अटिजम भएका बालबालिका शिक्षा र स्वास्थ्य सेवाबाट वञ्चित भइरहेको अवस्था छ । समाजमा अटिजम सचेतना कार्यक्रम सञ्चालन गर्दै विधागत विज्ञहरूको परामर्श लिई उनीहरूको समस्या र चुनौतीको पहिचान गरी सोअनुसारको शिक्षा र स्वास्थ्य सेवा पु¥याउन आवश्यक छ ।
अटिजम भएका बालबालिकाको फरक क्षमता र बौद्धिक अवस्थाअनुसारको शिक्षाको व्यवस्था नहुँदा उनीहरूको जीवन निकै कष्टकर बनेको छ । मूलधारका विद्यालयमा अटिजम भएका बालबालिकाका लागि आवश्यक पर्ने खालको शिक्षा र स्वास्थ्य सेवा सम्भव नहुने भएका कारण यस प्रकारका बालबालिकाको शिक्षाका लागि विशेष विद्यालयमा नै उपलब्ध गराउन आवश्यक हुन्छ ।
वर्तमान अवस्थामा विश्वभरि नै अटिजम भएका बालबालिकाको जन्मदर बढ्दो छ । नेपालमा ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रका बालबालिका अटिजमबाट बढि प्रभावित छन् । राजधानीमा मात्र स्थायी बसोवास गर्ने १ हजार २ सय ५३ जनामा अटिजम रहेको देखाउँछ ।
सबै तहका सरकारले अटिजम भएका बालबालिका, उनका परिवार र उनीहरुको विशेष शिक्षामा चासो नदिदाँ अभिभावक तथा सामाजिक स्तरबाटै अटिस्टिकहरुलाई व्यवहार सुधारका लागि काम भैरहेका छन् ।-लेखक अटिजम केयर सेन्टर बलम्बु १२ चन्द्रागिरीकी सञ्चालिका तथा महिला उत्प्रेरणा विकास मञ्चकी अध्यक्ष हुन ।
२० चैत्र २०८०, मंगलबार
8
Shares
प्रतिक्रिया