२३ असार २०८२, सोमबार | Mon Jul 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


लागु औषध कोकिन सहित दुई विदेशी नागरिक पक्राउ



काठमाडौ । ठुलो परिणाममा लागु औषध कोकिन सहित दुई जना विदेशी नागरिक पक्राउ परेका छन् । लागु औषध नियन्त्रण ब्युरोले कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका विदेशी नागरिकलाई पक्राउ गर्न सफल भएको हो ।

पक्राउ पर्नेमा २३ वर्षीय भारतीय नागरिक फहिमुद्दिन नसिमुद्दिन अनसारी र ४४ वर्षीय नाइजेरियन नागरिक इकेचुक्वा सिरिल ओबडोफुला रहेका छन् । नसिममुद्दिन साउन १ गते इन्डियो एयरलाइन्सको विमानबाट मुम्बई हुँदै नेपाल आएका थिए । उनलाई काठमाडौँ–२६, ठमेल स्थित एक होटलबाट जुसका २ वटा बट्टाभित्र लागु औषध कोकिनका ६२ वटा क्याप्सुल लुकाएर बसिरहेको अवस्थामा पक्राउ गरेको थियो ।नसिमुद्दिनले उक्त लागु औषध कोकिन सहितका जुसका बट्टाहरू काठमाडौँ–९ पिङ्गलास्थान स्थित एक होटलमा बसिरहेका नाइजेरियन नागरिक ओबडोफुलाबाट लिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

बरामद गरिएको कोकिनको तौल १ केजी १०० ग्राम रहेको छ । बरामद गरिएको लागु औषध कोकिनको अवैध बजार मूल्य अन्दाजी ३ करोड ८५ लाख हुन आउने प्रहरीले जानकारी दिएको छ ।

दुवै जनामाथि लागु औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  ६ : ५६ बजे