काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूलाई कमजोर र निरीह प्रतिपक्ष नठान्न सत्तापक्षलाई चेतावनी दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफूहरू बलियो प्रतिपक्षको रूपमा अघि बढ्ने बताएका हुन् ।
‘यो सम्मानित संसदमा मैले पटकपटक भनिरहेको छु , आमजनतामा ठुलो निराशा र मोहभंग छ, ठुलो असन्तोष छ । यो संसद्सहित हामी सबै दल जनताको ठुलो निगरानीमा छौँ । नेपाली कांग्रेस र नेकपा एमालेका साथीहरूलाई मेरो अनुरोध छ, जनता अहिलेको राजनीतिक शैलीसँग, चरित्रसँग, व्यवहारसँग रिसाएको छ ’– उनले भने– ‘प्राविधिकरुपमा तपाईँहरू ठुला हुनुहोला तर जनतासँगको तपाईँहरूको सम्बन्ध एकदमै कमजोर भएको छ । जनतामा ठुलो असन्तोष, घृणा र आक्रोश छ । लोकतन्त्रको सर्भिसिङबिना अब जनतालाई आश्वस्त गर्न सकिँदैन। यही भएर हामीले सुशासनको एउटा अभियान सुरु गरेका थियौं, त्यसलाई तपाईँहरूले भत्काइसक्नुभयो । दुई ठुला पार्टी मिलेर बेथिति थप्दै जाँदा कतै यो व्यवस्था नै सङ्कटमा पर्ने हो कि भन्ने मेरो चिन्ता छ ।’
‘सत्तासीन साथीहरूलाई मेरो अनुरोध छ, सङ्ख्याको भ्रममा नपरौँ, सत्यसँग साक्षात्कार गरौँ । धेरै टाढाका, अघिका, इतिहासका ठुला शिक्षा म भन्दिनँ, छेवैका श्रीलंका र बंगलादेशका घटनाबाट सिकौँ । श्रीलंकामा राजापाक्षेजी सङ्ख्याको सङ्कटले बाहिरिनुभएको हो रु होइन’– अध्यक्ष प्रचण्डले भने– ‘बंगलादेशी पार्लियामेन्टलाई त अवामी लिग र त्यही गठबन्धनको एकलौटी प्रतिनिधित्वको वन पार्टी पार्लियामेन्ट भनिन्थ्यो । त्यो थियो, अस्ति जनवरीको निर्वाचनको परिणाम, हाम्रोभन्दा तेह्र महिना कान्छो । तपाईँहरू जोडतोडको दुई तिहाइको घमन्डमा हुनुहुन्छ भने यो घमण्डबाट बिउँझनोस् । जनताको विवेकको अवमूल्यन नगर्नोस् ।’
‘यो संसद् विश्वस्त होस्, हामी न निरपेक्ष प्रतिपक्ष बन्नेछौँ, न त निरीह प्रतिपक्ष । हामी रचनात्मक र सिर्जनात्मक प्रतिपक्ष बन्नेछौँ, यो सम्मानित संसद्मा जनताको आवाज बन्नेछौँ । आफू बस्न नपाएपछि कुर्सी नै भाँच्ने, प्रणाली नै भत्काउने शैली र चरित्र हाम्रो होइन’– उनले थप्नुभयो– ‘देशको हितमा राम्रो गर्नोस्, हामी साथ दिन्छौँ । संविधान निर्माणका बेला म प्रमुख प्रतिपक्षी दलकै नेता थिएँ तर कतिपय अवस्थामा मैले सत्ता पक्षबिचमै पनि संयोजनकारी भूमिका निर्वाह गरेँ । त्यो भूमिका यो संसद् र इतिहासमा लिपिबद्ध छ । शान्ति प्रक्रियाको तार्किक निरूपणमा सरकारको सकारात्मक भूमिकालाई मैले रोस्टमबाटै खुला प्रशंसा र समर्थन गरिसकेको छु । विश्वविद्यालयहरूमा सकारात्मक परिवर्तनका लागि अग्रसरता लिऊँ, हामी सँगै उभिन्छौँ । उद्यमशीलताका लागि आवश्यक नीतिगत र व्यवहारिक सुधारमा अग्रसरता लिऊँ, हामी साथ दिन्छौँ ।’
आज म केवल खबरदारी गर्न उपस्थित भएको उल्लेख गर्दै उनले भने– ‘सरकारलाई मेरो विनम्र आग्रह छ, यो खबरदारीलाई कर्मकाण्ड नसम्झनुहोला । यही खबरदारी हामी सडकमा पनि गर्दैछौँ । सरकारका प्राथमिकताहरू विवेक होइन, अहङ्कार, इगो र स्वार्थ समूहको प्रभावले तय भइरहेका छन्, जनतासँग क्षमायाचनासहित सच्याउनोस् । विद्युत् प्राधिकरणमा जे गर्न खोज्नुभयो र खोज्दै हुनुहुन्छ, रोक्नोस् । भुटानी शरणार्थी काण्डलाई जता पुर्याउन र इमानदार प्रहरीलाई जसरी दण्डित गर्न खोज्दै हुनुहुन्छ, त्यो नगर्नोस् । विश्वविद्यालयमा मेरिटोक्रेसी मिच्दै हुनुहुन्छ, रोकिनोस् । गिरीबन्धुलगायतका नीतिगत भ्रष्टाचारहरूमा रफ्फु भर्दै हुनुहुन्छ, सुध्रिनोस् । हिजो आफैँ प्रधानमन्त्री हुँदा बनाएका वैदेशिक श्रमका मापदण्ड मानवतस्करका लागि उल्ट्याउँदै हुनुहुन्छ, त्यता नलाग्नोस् । अझै पनि सुध्रिनोस् र सच्चिनोस् ।’
बिचौलियाहरूलाई रोस्टमबाटै सन्देश पठाउँदै अध्यक्ष प्रचण्डले भने– ‘तपाईँहरूले रचना गरेको सरकार तपाईहरुको धेरै सेवा गर्न चाहन्छ तर यसको सामर्थ्य छैन । सामर्थ्य यसकारण छैन कि खबरदारी गर्न हामी प्रतिपक्ष छौँ । सामर्थ्य यसकारण छैन कि सरकार र माफिया दुवै एक्सपोज्ड छन् । बिजुलीकै बिललाई टेस्ट–केस् माने हुन्छ । कुन हतियार चलाएन माफियाले रु आफूले सक्ने मिडिया चलाएन कि रु संसद्का समिति चलाएन कि रु डेडिकेटेड ट्रंकलाइनमाथि बोल्न थालेपछि सम्मानित संसद्मै सांसदको माइक काटिएन कि रु सरकार र अझ सरकारको शिर नै चलाएन कि रु यही रोस्टम चलाएन कि रु देखिने गरी सबै चलायो । तर, जनताको शक्ति हेर्नोस् ।’
‘बिजुलीको आठ अर्ब बक्यौतामा समस्या भएर रोस्टममा उभिएका प्रधानमन्त्री अब फेसबुकबाटै भए पनि बाइस अर्ब भन्न थाल्नुभएको छ । विद्युत् प्राधिकरणको यही टेस्ट–केसले भन्छ, अब माफियाभन्दा जनता बलियो भइसकेको छ’– अन्त्यमा अध्यक्ष प्रचण्डले भने– ‘त्यसैले साथीहरू अब यति, ओम्नी र गिरीबन्धुका पुराना सुमधुर सम्झनाबाट ब्युँझिए हुन्छ । प्रतिपक्ष प्रतिबद्ध छ र जनता जागृत छ । अब सच्चिनु र सुध्रिनुमै सबैको भलो छ ।’
प्रतिक्रिया