१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


नाबालकको जग्गा बेच्न किर्ते जन्मदर्ता बनाउने वडाध्यक्षसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी



जिल्ला प्रहरी कार्यालय धादिङको अनुरोधमा धादिङको धुनीबेसी नगरपालिका–४ का वडाध्यक्ष र सचिवसहित जिल्ला अदालत धादिङबाट ७ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङले उनीहरूविरुद्ध १२ मङ्सिरमा अदालतबाट पक्राउ पुर्जी जारी भएको बताएको छ ।

किर्ते गरेको आरोपमा वडासचिव मिलन कुमार सुवेदी, वडाध्यक्ष हरिप्रसाद सुवेदी, उक्त वडाका अर्का कर्मचारी निर्मल गौतम, धादिङकै थाक्रे गाउँपालिका–८ का २९ वर्षीय रवीन्द्र तामाङ, धुनीवेशी–४ का ३० वर्षीय राजु तामाङ, धुनीवेशी–४ कै ५५ वर्षीय मदन दमाई र काठमाडौँको तार्केश्वर नगरपालिका–४ पुरोना गुह्येश्वरी बस्ने ३६ वर्षीय जमुना परियारलाई पक्राउ पुर्जी जारी गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका एसपी दीपेन्द्र शाहीका अनुसार उनीहरूविरुद्ध किर्तेको कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको हो । उनीहरूविरुद्ध सरकारी कागजात किर्ते गरेको आरोप छ ।

जमुना र नाबालक छोराको नाममा रहेको जग्गा बेच्नका लागि किर्ते जन्मदर्ता बनाएर नाबालकलाई साबालक बनाइएको थियो । एक अनुसन्धान अधिकृतका अनुसार करोड भन्दा बढी मूल्यको जग्गा नाबालक छोराको समेत अनुमति भनेर बेचेको खुलासा गरिएको छ । यो समूहले यसवापत केही रकम समेत लिएको प्रहरीको भनाइ छ ।

यता वडाध्यक्ष सुवेदी पक्राउ पुर्जी जारी भएपछि मोबाइल अफ गरेर सम्पर्कविहीन हुनुभएको छ । एक अनुसन्धान अधिकृतले प्रतिवादीहरूलाई पक्राउ गरेपछि यसबारेमा सत्यतथ्य पत्ता लाग्ने जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ३ : १८ बजे