३० श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


कारागार निरीक्षणपछि सरकारलाई मानव अधिकार आयोगको लिखित ध्यानाकर्षण



रास्वपा सभापति रवि लामिछानेलाई थुनिएको कोठा स्वास्थ्यको दृष्टिकोणले पनि उपयुक्त नरहेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई लिखित ध्यानाकर्षण गराएको छ । सदस्य डा. लिली थापा नेतृत्वको टोलीले सोमबार रुपन्देही कारागारमा लामिछानेलाई थुनिएको कोठाको स्थलगत निरीक्षण गरेपछि मंगलबार आयोगले विज्ञप्ति जारी गर्दै स्वास्थ्य, सुरक्षा र मानव अधिकार कुनै पनि दृष्टिमा उक्त कोठा उपयुक्त नभएको जनाएको हो ।

‘कारागारमा रवि लामिछानेलाई राखिएको कोठाको झ्याल प्लाईले बन्द गर्दा कोठामा हावा पास हुन नसकेको, निजलाई कोठाबाहिर हिँडडुल गर्न नदिइएको, कोठासँगै खुला ट्वाइलेट रहेको, स्वास्थ्यको दृष्टिकोणले निजलाई राखिएको कोठा उपयुक्त नभएको र अदालतबाट आदेश हुँदासमेत लामिछानेलाई स्थानान्तरण नगरिएको पाइएको छ,’ आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

रुपन्देही जिल्ला अदालतले १६ जेठमै लामिछानेको मन्जुरी भए उपत्यकाका कारागारमा स्थानान्तरण गर्न अनुमति दिएको थियो । तर, गृहमन्त्री रमेश लेखकको दबाबमा कारागार विभागले स्थानान्तरण गरेको छैन । अदालतको आदेश उल्लंघन भएको विषयप्रति पनि आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको, ज्येष्ठ नागरिक र बिरामीलाई राख्ने छुट्टै स्थान नभएको, पर्याप्त पत्रपत्रिका उपलब्ध नभएको, पढ्न चाहनेहरूका लागि शिक्षाको उचित व्यवस्था नभएको, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नुपर्नेहरूले प्राप्त गर्न नसकेको, वेला–वेलामा कारागारभित्र सर्पहरू पस्ने गरेको र कतिपय आधारभूत आवश्यकताहरूको व्यवस्थापनका लागिसमेत कारागार कार्यालयसँग पर्याप्त बजेट नभएको पाइएको विज्ञप्तिमा जनाएको छ ।

त्यस्तै, केही दिनअघि कैलाली कारागारमा केदीबन्दीबिच भएको मुठभेडबाट उत्पन्न स्थितिको समेत अनुगमन गरेको आयोगले सरकारलाई ९ बुँदे निर्देशन दिएको छ । कारागार व्यवस्थापनका लागि पर्याप्त जनशक्ति र बजेटको व्यवस्था गर्न, रुपन्देही तथा कैलाली कारागारलगायतका सबै कारागारहरूको क्षमता अभिवृद्ध गरी उचित सुधार गर्न, कैदीबन्दीको स्थानान्तरण प्रक्रिया पारदर्शी बनाउन भनेको छ । त्यस्तै, कारागारमा पटक–पटक हुने गरेका भिडन्त दोहोरिन नदिने रणनीति तय गर्न, कारागारको सुरक्षा व्यवस्थालाई चुस्त बनाउन, कारागारलाई सुधारगृहको रूपमा विकास गर्न, कारागार व्यवस्थापन र कारागारभित्रको प्रशासनिक क्रियाकलापलाई पारदर्शी बनाउन, कैदीबन्दीहरूप्रति मानवोचित व्यवहार गर्न र देशभरका सम्पूर्ण कारागारहरूलाई मानव अधिकारमैत्री बनाउन आयोगले नेपाल सरकारलाई निर्देशन दिएको छ ।

रविलाई कारागार स्थानान्तरण नगरिएकोमा राप्रपा अध्यक्ष लिङ्देन र कांग्रेस सांसद केसीले उठाए प्रश्न

अदालतले आदेश दिँदासमेत रवि लामिछानेलाई कारागार स्थानान्तरण नगरिएकोमा प्रतिपक्षी मात्रै होइन, सत्तारूढ दलकै नेताहरूले सरकारप्रति प्रश्न उठाउँदै आएका छन् । सत्तारूढ कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संसद्बाटै सरकारप्रति आशंका जनाए ।

‘राष्ट्रिय पार्टीको सभापति र पूर्वमन्त्रीसमेत भएको व्यक्ति अदालतद्वारा कारागार स्थानान्तरणको आदेश दिँदा पनि स्थानान्तरण नहुनु दुस्खद मात्र होइन, नबुझिँदो कुरा भएको छ,’ उनले भने ।

त्यस्तै, प्रतिपक्षी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले लामिछानेलाई रुपन्देही कारागारमै भेटेर स्थानान्तरण नगर्नु अनुचित रहेको बताएका छन् । भेटपछि सञ्चारकर्मीसँग उनले भने, ‘यो तहको नेतालाई अदालतले अन्यत्र कारागार सार्नु भनेर अनुमति दिँदा पनि बेवास्ता गरिराख्नु ठिक भएन । गृहमन्त्री स्वयंले कहाँ राख्दा सहज हुन्छ भनेर समन्वय गर्नुपर्ने हो ।’ -नयाँ पत्रिकाबाट

प्रकाशित मिति : २९ श्रावण २०८२, बुधबार  १२ : ०६ बजे