२० कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विश्व


इरानमा खानेपानीको चरम संकट, पश्चिम एशियाका लागि खतराको घण्टी



इरानको राजधानीमा खानेपानीको संकट भएको छ । सरकारी सञ्चारमाध्यमका अनुसार राजधानी तेहरानमा दुई हप्तामा खानेपानीको मुख्य स्रोत पूरै सुक्ने खतरा देखिएको हो ।

तेहरानमा पानी आपूर्ति गर्दै आएको एक कम्पनीका निर्देशक बेहजाद पारसाले मुख्य स्रोत कबीर बाँधमा अब जम्मा १४ मिलियन क्यूबिक मिटर मात्र पानी रहेको बताए । एक वर्षअघि यहाँ ८६ मिलियन क्यूबिक मिटर पानी थियो ।

अब बाँकी रहेको पानीले राजधानी तेहरानको माग दुई हप्तामात्रै धान्ने निर्देशक पारसाले चेतावनी दिएका छन् ।

तेहरानले लामो समयदेखि खडेरीको मारमा छ । जसका कारण उसले दशकौं यताकै ठूलो जल संकट झेलिरहेको छ । एक स्थानीय अधिकारीका अनुसार अक्टोबरमा वर्षाको स्तर शताब्दीमै कम भएको बताए ।

इरानको सरकारी समाचार संस्था इस्लामिक रिपब्लिक न्यूज एजेन्सी (आईआएएनए) भनेको छ, ‘यदि आगामी महिनामा वर्षा भएन भने तेहरानमा खानेपानीको आपूर्तिमा गम्भीर चुनौती सामना गर्नुपर्नेछ ।’

तेहरानका एक बासिन्दाले पहिचान नखुलाई बीबीसी फारसीसँग भने, ‘पानीको कटौती र पानीको प्रेसर समेत घट्दा अपार्टमेन्टमा पानी चाँडै सकिन्छ वा हुँदै हुँदैन ।’

यस्तो अवस्था सामना गर्न निकै मुश्किल भएको उनले बताए । खासगरी गर्मीका बेला भीषण वायु प्रदूषणमा पानी नहुँदा गाह्रो हुने गरेको उनले बताए । ‘घरमा साना बच्चा वा वृृद्ध छन् भने स्थिति झन् खराब हुन्छ, किनकि पानीको आपूर्तिको समस्या कहिलेकाँही त घण्टौंसम्म व्यहोर्नुपर्छ,’ ती स्थानीयले भने ।

इरानभर पानीको कमीका कारण बारम्बार विद्युत कटौती हुँदा नागरिकमा निराशा बढ्दै गएको छ ।

जल संकटका कारण इरानको राजधानी तेहरानदेखि खुजेस्तान र सिस्तान–बलुचिस्तान प्रान्तका गाउँ प्रभावित छन् । पानी अभावको पीडा असैह्य भएको स्थानीय बताउँछन् ।

लगातार पाँच वर्षदेखिको खडेरी र रेकर्डस्तरको गर्मीका कारण तेहरानमा भूमिगत धारा (चापाकल) सुक्न थालेका छन् । विद्युत गृहका जलासयमा समेत पानीको मात्रा इतिहासकै सबभन्दा कम स्तरमा पुगेपछि अहिले इरानमा लोडसेडिङ सामान्य भएको छ ।

डे जीरो

केही हप्तामै पानीको उपभोग भारी मात्रामा कटौती गरिएन भने तेहरानका केही क्षेत्रले ‘डे जीरो’को सामना गर्नुपर्ने अधिकारीहरूले चेतावनी दिएका छन् ।

त्यस्तो अवस्थामा उपभोक्ताका घरको पानीको लाइन क्रमश: काट्न थालिने र पानीको आपूर्ति स्ट्याण्डपाइप वा ट्याङ्करका माध्यमले हुने उनीहरूको चेतावनी छ ।

डे जीरोको अर्थ अस्पताल र अत्यावश्यक सेवालाई प्राथमिकता दिँदै घरायसी पानीको आपूर्तिमा कटौती गर्नु हो । यस्तो अवस्थामा निश्चित मात्रामा घरहरूमा पानी आपूर्ति हुनेछ ।

यस्तो स्थितिमा खानेपानी वितरण विभागका कर्मचारीहरू बारम्बार टोलमा पानीको वितरणमा खटिनुपर्नेछ । जसकारण धनाढ्य वर्गलाई त्यति असर नगरेपनि निम्न वर्गले भने निकै संघर्ष गर्नुपर्ने देखिन्छ ।

इरानको पर्यावरण विभागको उपप्रमुख भइसकेका प्रोफेसर कावेह मदनीले भने, ‘मानिस आफूलाई अवस्थाअनुसार ढाल्छन् तर, मेरो सबभन्दा ठूलो चिन्ता भने आगामी वर्ष पनि यस्तै सुख्खा भयो झन् कठिन हुनेछ ।’

इरानमा अत्यधिक गर्मी र विद्युत गृहमा पुरानो भइसकेका ग्रिडमा दबाब बढेर यस्तो स्थिति आएको विज्ञहरू बताउँछन् ।

संयुक्त राष्ट्रसंघीय विश्वविद्यालयको पानी, वातावरण र स्वास्थ्य संस्थानका निर्देशक प्राध्यापक कावेह मदनीले इरानको हालको समस्यालाई केवल पानीको संकट भन्न नहुने बताउँछन् । उनले भने, ‘यो केवल पानीको संकट होइन, यो त पानीको स्रोत नै सकिनु हो । यसको पूरै क्षतिपूर्ति सम्भव छैन ।’

संयुक्त राष्ट्रसंघको मरुभूमिकरण रोकथाम सन्धि (यूएनसीसीडी) का डेनियल सगायले इरानको समस्या अरू देशका लागि पनि चेतावनी भएको बताउँछन् ।

उनले भने, ‘जब जलसंकट, जलवायु परिवर्तन र कमजोर शासन एकैसाथ देखापर्‍यो भने देशको हालत के हुन्छ  भन्ने इरानको समस्याले देखाउँछ ।’

इरानको परराष्ट्र मन्त्रालय, लन्डनस्थित दूतावास र कन्सुलेटसँग देशमा भइरहेको जलसंकटबारेको योजना सोध्दा कुनै प्रतिक्रिया प्राप्त नभएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बुधबार  ९ : ५२ बजे